काठमाडौं । नेपाली कांग्रेसको पछिल्लो अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेस विभाजित भएको र त्यसको असर आगामी निर्वाचनमा पर्ने विश्लेषण भइरहेको छ ।
कांग्रेस विभाजनसम्बन्धी विषयमा प्रतिक्रिया दिँदै एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विवादलाई कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्न सकिने बताएका छन् । उनले अदालत जाने अधिकार सबैलाई खुला रहेको उल्लेख गर्दै उजुरी परेमा कानुन र संविधानअनुसार परीक्षण हुने स्पष्ट पारे ।
भट्टराईले भने, ‘अदालत जान त जसलाई पनि खुला छ । अदालत त्यसकै लागि गठन गरिएको हो । उजुरी आएपछि कानुनसम्मत छ कि छैन, संविधानसम्मत छ कि छैन भनेर हेरिन्छ ।’
यस्तै, एमाले उपाध्यक्ष रघुजी पन्तले कांग्रेसको हालको विभाजन देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको टिप्पणी गरेका छन् । वर्तमान अवस्थामा कांग्रेस फुट्नु सुखद् विषय नभएको उनको भनाइ छ ।
पन्तले भने, ‘देश, जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा होइन ।’
यसैबिच, निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता प्रमाणित गरेको छ । तर संस्थापन पक्षले आयोगले एकलौटी निर्णय गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा उजुरी दिने तयारी गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया