राजनीतिलाई पेसा बनाउने धारणा जेनजी आन्दोलनले तोड्यो : मन्त्री खरेल

लोकपथ
63
Shares

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि सञ्चारकर्मीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको आयोजनामा ललितपुरको महालक्ष्मीस्थानमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण रहेकाले राज्य सञ्चालनमा उनीहरूको भूमिका प्रभावकारी हुने बताए ।

पत्रकारले देश, समाज र राजनीतिबारे गहिरो बुझाइ राख्ने भएकाले सञ्चारकर्मीलाई सरकार सञ्चालन गर्न कठिन नहुने उल्लेख गर्दै मन्त्री खरेलले आफू २५ वर्ष पत्रकारितामा संलग्न रहेर जेनजी आन्दोलनको बलमा मन्त्री बनेको बताए । उनले राजनीतिलाई पेशा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने धारणा जेनजी जनआन्दोलनले चिरेको उल्लेख गरे ।

‘देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ,’ उनले भने ।

मन्त्री खरेलले जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले चार महिनाको अवधिमा जनपक्षीय काम गरेको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन समाजका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको बताए । निर्वाचन सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि महासंघ निरन्तर सक्रिय रहेको बताइन् ।

चलचित्र पत्रकार संघका अध्यक्ष बैकुण्ठराज पराजुलीले मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्न सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?