देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) ले शब्दभन्दा कामलाई प्राथमिकता दिएको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । 

बालेनले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न जिल्लामा काम गरेको उल्लेख गरेका छन् । काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको र गोरखासहित ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको उनले बताएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा अब कहिल्यै पनि त्यस्तो विनाशकारी दिन नआओस् भन्ने कामना पनि उनले गरेका छन् ।

उनका अनुसार नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा विकास केवल इन्जिनियरिङको कामले मात्र सम्भव हुँदैन । भौगोलिक अवस्था र समाजका विविध पक्षलाई सँगै अघि बढाएर मात्र राष्ट्रको विकास सम्भव हुने उनको भनाइ छ । विकास भनेको भूगोल र जनताको दुवै पक्षलाई जोड्ने बलियो आधार निर्माण गर्नु भएको उनले बताएका छन् ।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको बालेनको भनाइ छ । यही बुझाइका कारण आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र विदेशमा अवसर हुँदाहुँदै पनि देश फर्किएको उनले उल्लेख गरेका छन् ।

महानगर प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा काममा जोड दिएको भन्दै उनले स्थानीय तहले अधिकार प्रयोग गरेर जनताको जीवनमा प्रत्यक्ष असर पर्ने काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको दाबी गरेका छन् । पारदर्शी सेवा, प्रणाली सुधार र संरचनागत परिवर्तनको सुरुवात महानगरबाट भएको उनको भनाइ छ ।

बालेनले विकास भनेको सडक र ठुला भवन मात्रै नभई सुरक्षित संरचना, जनताको आशा जोगाउने नीति र देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो भनेका छन् । दीर्घकालीन सोच, इमानदार नेतृत्व र जनविश्वास जित्ने शासन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै उनले सुरक्षित र आशालाग्दो भविष्यका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?