निर्वाचन आयोगमा गगनलाई प्रश्न– ‘नयाँ कार्यसमितिले वैधानिकता पाउँछ त ?’

लोकपथ
1.4k
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुग्नुभएका उनले यस्तो बताए ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराईएको उनले जानकारी दिए ।

विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उहाँले बताए ।

महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाई ।

विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गरे ।

माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उनले आवश्यकता औंल्याए ।

उनले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गरे ।

आयोगले यसलाई छिट्टो टुंगोमा पुर्‍याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको विधान धारा १७९२० बमोजिम नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना भयो । र विशेष महाधिवेशन पार्टीको विधानको धारा १५ बमोजिम बमोजिम पार्टीको सर्वोच्च संस्था हो । अधिवेशनले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने जुन व्यवस्था हो, त्यही व्यवस्था अनुरुप सम्पन्न भएको महाधिवेशनले गरेका निर्णयहरुका बारेमा हामीले आज निर्वाचन आयोगलाई जानकारी गराएका छौँ । अधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णय पनि गरेको हुँदा यसले नेपाली काँग्रेसको विद्यमान केन्द्रिय कार्यसमितिलाई बदलिएको छ । त्यो केन्द्रिय कार्यसमिति बदलिएपनि नयाँ आएको केन्द्रिय कार्यसमितिको बारेमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्ने कुराको हामीले केही समयभित्रमा अधिवेशनको गरेको कुरा निर्वाचन आयोगलाई जानकारी गराईसक्नुपर्छ । हामीले आज निर्वाचन आयोगमा त्यही कुरा जानकारी गराएका छौँ । विशेष अधिवेशन सम्पन्न भयो, यसले नेतृत्व परिवर्तन गरेको छ । केन्द्रिय कार्यसमिति नै नयाँ आएको छ । यसलाई अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौँ । यसको लागी पुष्टी गर्न चाहिने कागजातहरु, सबै विवरण हामीले बुझाएका छौँ । यो अधिवेशन रितपुर्वक भएको छ र यसलाई माघ ६ गतेको प्रतिनिधिसभाको निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अध्यावधिक गर्ने काम टुङ्ग्याइदिएर बाँकी रहेका, बाहिर रहेका दुविधिाहरुलाई पनि चिर्दिनुपर्छ । यो राजनितिक दलको कुनै विवादसम्बन्धि विषय होइन, यो राजनितिक दलको अधिवेशन सम्पन्न भएको अध्यावधिक गरेको विषय हो । समय एकदमै कम रहेको छ, हाम्रो चाहाना भनेको आज एक गते भइसक्यो, भोली या ढिलोमा पनि पर्सिको दिन भित्रमा निर्वाचन आयोगको तर्फबाट अध्यावधिक गर्ने काम टुंगिन्छ भन्ने विश्वास छ ।’

उनले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली कांग्रेस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?