आपत्तिजनक सन्देश रोक्न नेपाल टेलिकमको कडाइ, सेवा प्रदायकलाई अन्तिम चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । सामाजिक, धार्मिक तथा राजनीतिक सद्भाव बिगार्ने खालका आपत्तिजनक सन्देशहरू मोबाइल प्रयोगकर्तासम्म पठाएको गुनासो बढेपछि नेपाल टेलिकमले चासो देखाएको छ ।

टेलिकमले आफ्ना भ्याल्यू एडेड सेवा प्रदायकहरूलाई अनुमतिबाहिर गई जथाभाबी सन्देश प्रवाह नगर्न कडा निर्देशन दिँदै अब यस्ता गतिविधि दोहोरिए सम्झौता नै रद्द गरिने स्पष्ट चेतावनी दिएको छ ।

नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक द्वेष फैलाउने कुनै पनि प्रकारका सन्देश सर्वसाधारणको मोबाइलमा पठाउन पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । स्वीकृत व्यावसायिक दायराभन्दा बाहिर गई समाजमा भ्रम, तनाव र विभाजन सिर्जना गर्ने कार्य अस्वीकार्य भएको टेलिकमको ठहर छ । 

यस्ता गैरजिम्मेवार गतिविधिले टेलिकमको प्रतिष्ठा मात्र नभई सामाजिक सहिष्णुतामै गम्भीर असर पार्ने भएकाले अब थप लापरबाही सहन नसकिने टेलिकमले जनाएको छ 

नेपाल टेलिकमले नियम उल्लंघन गर्ने सेवा प्रदायकमाथि सम्झौतामा उल्लेखित कानुनी प्रावधानअनुसार कडा कारबाही गरिने स्पष्टसमेत पारेको छ । ग्राहकको वास्तविक आवश्यकता र सहमतिबिनै सन्देश पठाउने प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गर्न तथा आन्तरिक संयन्त्र प्रभावकारी बनाउन सेवा प्रदायकहरूलाई निर्देशन पनि दिएको छ ।

यसैबीच, नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको मोबाइल नम्बर वा अन्य कुनै पनि व्यक्तिगत विवरण सेवा प्रदायकलाई उपलब्ध नगराएको स्पष्ट पारेको छ । ग्राहकको गोपनीयता आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै टेलिकमले भविष्यमा पनि व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयताको पूर्ण सम्मान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?