पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति तथा माघी जस्ता पर्वले नेपाली समाजमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

माघे सङ्क्रान्ति तथा माघी पर्व २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । 

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले बहु जातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख  गरेका छन् । 

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासका साथ मनाउने परम्परा रहेको छ । विशेष गरी थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने चलन छ ।

राष्ट्रपति पौडेलले माघे सङ्क्रान्तिका दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहिआएको उल्लेख गरे ।  यस्ता मौलिक सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले माघे सङ्क्रान्ति तथा माघी पर्वले संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणतर्फ सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?