बाँके । अपहरण र सामूहिक बलात्कार भएको भन्दै एकै परिवारका पाँच जनाविरुद्ध ल्याइएको जाहेरी सच्चाएर एकजना विरुद्ध मात्रै जाहेरी दर्ता भएको छ । पीडित किशोरीको आमाले मंगलबार साँझ नयाँ जाहेरी ल्याएर एकजना विरुद्ध मात्रै जबरजस्ती करणीको जाहेरी ल्याएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका डीएसपी दिपक पातालीका अनुसार पीडित किशोरीको आमाको तर्फबाट मंगलबार साँझ आरोपित सद्दाम खाँ विरुद्ध मात्रै जबरजस्ती करणीको जाहेरी आएको हो । उनकी आमाले यसअघि हुलाकमार्फत ५ जनाविरुद्ध पठाएको जाहेरी फिर्ता लिँदै छोरीसँगै रंगेहात भेटिएका सद्दाम खाँ विरुद्ध मात्रै जाहेरी दर्ता गराएकी हुन् ।
यसअघि पीडित किशोरीको आमाको तर्फबाट सद्दामको दाइ लगायत परिवारका पाँच जनाविरुद्ध सामूहिक बलात्कारको जाहेरी हुलाकमार्फत पठाएकी थिइन् । तर प्रहरीले सनाखत गर्न आउन भनेपछि मंगलबार साँझ उनकी आमा जनाविरुद्ध मात्रै जाहेरी लिएर गएकी हुन् । मंगलबार नै जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
जाहेरी दर्ता भएसँगै अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना भएको दिन नै पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइसकेको छ ।
भएको के थियो ?
२०८२ साल पुसको १७ गते बिहान बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा २४ वर्षीय एक युवक रगताम्मे अवस्थामा फेला परेका थिए । टाउको तथा शरीरभरि घाउ र रगत नै रगत लतपतिएको अवस्थामा सोही दिन बिहान २ बजेको समयमा स्थानीयले प्रहरीलाई ‘झगडा भएको’ जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुग्दा युवकको त्यस्तो अवस्था देखिएको थियो । त्यस लगत्तै प्रहरीले युवकलाई उद्धार गरी अस्पताल पुराएको थियो । ती घाइते थिए स्थानीय सद्दाम खाँ ।

सुरुमा अचेत रहेका सद्दाम होसमा आएपछि आफूमाथि आक्रमण गर्नेहरूको नाम नै किटान गरेका थिए । सद्दामले आफूलाई आक्रमण गर्नेहरूमा राजेश खटिक, रवि खटिक, रमेश खटिक, अनिता खटिक, जावेश खटिक, दुर्गेश खटिक, मोहन यादव र राधे भन्ने रामरुप यादव रहेको प्रारम्भिक जानकारी दिए । आक्रमणको कारण भने के हो आफूलाई पनि थाहा नभएको सद्दामले बताए ।
त्यसपछि सद्दामका आफन्तहरूले बिहानैबाट हुलाकी राजमार्ग नै अवरुद्ध गरेर आक्रमणकारीमाथि कानुनी कारबाहीको माग गरे । सद्दामसँग प्रारम्भिक कुरा भएसँगै सद्दामकी दिदीको तर्फबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगमा संलग्न भनिएका ८ जनाविरुद्ध बिहान १० बजे नै किटानी जाहेरी पर्यो ।
ज्यान मार्ने उद्योगमा जाहेरी परेको ५ घण्टापछि पीडित किशोरीको तर्फबाट प्रहरीमा सामूहिक जबरजस्ती करणी भएको भन्दै निवेदन आइपुग्यो । प्रहरीले निवेदन हेर्दा गम्भीर घाइते रहेका सद्दाम खाँको समेत नाम थियो ।
बाँके प्रहरीले पीडितका तर्फबाट एक निवेदन लिएर तत्कालै विस्तृत स्वास्थ्य परीक्षण गराइयो । स्वास्थ्य परीक्षणको क्रममा किशोरीको बायाँ तिघ्रा र बायाँ कुमको बाहिरी भागमा समेत कुटपिट भएको निसान देखियो । किशोरीले सुरुवाती चरणमा आफू शौचालय गएको समयमा ५ जनाको समूहले जबरजस्ती उठाएर लगी बलात्कार गर्न खोजिएको बताइन् । तर आफूले लात हानेका कारण आफूमाथि जबरजस्ती करणी भने नभएको प्रारम्भिक बयान दिइन् । प्रहरी कार्यालयमा मौकाको बयान वा घटना विवरण टिपाउने क्रममा आफूमाथि करणी भने हुन नपाएको र हालसम्म आफूले कसैसँग पनि यौन सम्बन्ध नराखेको बताइन् ।
किशोरीको स्वास्थ्य परीक्षण लगत्तै जाहेरी दिन प्रहरीले पीडित किशोरीका आफन्तलाई आग्रह गरे । किशोरीका आफन्त र किशोरीलाई साथमै लिएर आउने महिला अधिकारकर्मी टीका सुनारसहितको टोलीले किशोरीलाई साथी नामक संस्थाको जिम्मा लगाएर भोलिपल्ट अर्थात् पुस १८ गते जाहेरी ल्याउने भनी बिदा भए । जाहेरीका लागि पीडित किशोरीको आमा वा एकाघरका सदस्यबाट जाहेरी दिने भनियो ।
यता मरणासन्न अवस्थामा रहेका सद्दाममाथि नै बलात्कारको आरोप लाग्नु र किशोरीको उमेर १६ वर्ष मात्रै रहेका कारण प्रहरीले दुवै घटनालाई सूक्ष्म रूपमा हे¥यो । घटनाको दोस्रो दिन बाँके प्रहरीले किशोरीको आमालाई समेत प्रहरी कार्यालयमा ल्यायो । कुटपिटको घटनामा किशोरीको आमासमेत आरोपित भएकाले के भएको र घटना कसरी भयो भनी सोधपुछ गरियो । महिला प्रहरी आफैँ किशोरीको घरमा पुगेर किशोरीको आमालाई प्रहरीकै स्कुटरमा राखेर प्रहरी कार्यालयमा ल्याइएको थियो ।
प्रहरीले सोधपुछ गर्दा किशोरीको आमाले पनि किशोरीले भनेको जस्तै आफ्नी छोरी रातको १ बजे शौचालय गएको अवस्थामा ५ जनाको समूहले शौचालयबाटै छोरीको मुख थुनी अपहरण गरी लगेको र सामूहिक बलात्कार गरिएको बयान दिइन् । प्रहरीले किशोरीकी आमालाई जाहेरी दिन भने । किशोरीको आमा जाहेरी लेखाएर ल्याउँछु भन्दै त्यहाँबाट निस्किइन् ।

तर किशोरीको आमा भोलिपल्ट अबेला मात्रै जाहेरी लिएर आइन्, त्यो पनि असम्बन्धित व्यक्तिको समेत नाम राखेर । घटनामा संलग्नता नै नभएको र घटनास्थलमै नभएका व्यक्तिलाई समेत बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी ल्याइएको, जाहेरीको सिलसिला, किशोरीले प्रहरीमा टिपाएको घटना विवरण कागज र निवेदनमा उल्लेख कुरा तथा आमाले प्रहरीसमक्ष पहिले टिपाएको घटना विवरण पनि बाझिएपछि प्रहरीले जाहेरी सच्याएर ल्याउन भने । घटना जे भएको हो, त्यही ब्यहोरा लेखेर ल्याउन प्रहरीले सुझाव दिए । त्यसपछि उनीहरू जाहेरी नै लिएर आएनन् ।

बरु एकाएक घटना भएको ५ दिनपछि मात्रै हुलाकमार्फत पीडित बालिकाको आमाको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी आइपुग्यो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा ३ (क) मा हुलाकबाट पनि जाहेरी पर्न आएमा उक्त जाहेरीको सनाखत गरी दर्ता गर्नुपर्ने व्यवस्था रहेका कारण प्रहरीले जाहेरवाली महिलालाई सम्पर्क गर्ने र कार्यालयमा आई वा प्रहरी नै जाहेरवालीको घरमा गई जाहेरी दर्ता गर्ने कोसिस गर्यो । तर जाहेरवाली प्रहरीको सम्पर्कमा नै आउन चाहिनन् ।
किशोरीमाथि कसले किन गरेको थियो आक्रमण ?
लोकपथलाई प्राप्त पीडित किशोरीको आमाको एक भिडियो क्लिपमा पीडित किशोरीलाई ५ जनाको समूहले राति १ बजे अपहरण गरी लगेर जबरजस्ती करणी गर्दै गरेको अवस्थामा भेटेपछि कुटपिट गरेको बताएकी छिन् । भिडियोमा उल्लेख भएअनुसार रातको १ बजेको समयमा छोरी शौचालय गएको अवस्थामा शौचालयबाटै ५ जनाको समूहले छोरीको मुख थुनी अपहरण गरी लगेको बताइन्छ । त्यसको केही समयपछि छोरीको खोजी गर्दै जाँदा एक स्थानमा ५ जनाको समूहले छोरीमाथि बलात्कार गर्दै गरेको अवस्थामा भेटेको, कोही तौलिया मात्रै बेरेर बसेको र छोरी तथा सद्दामसमेत नग्न अवस्थामा भेटिएको बताएकी छिन् ।
छोरी र सद्दाम पनि नग्न अवस्थामा भेटिँदा अन्य आरोपी भागेको र किशोरी तथा सद्दामलाई किशोरीको बुवा तथा काकाले कुटपिट गरेको भिडियोमा उल्लेख छ । किशोरीको आमाले भिडियोमा बताएअनुसार छोरी र सद्दाम नग्न अवस्थामा भेटिएपछि किशोरीका बुवाले समेत लाठीले छोरी माथिसमेत आक्रमण गरेको र त्यसैबाट छोरीको बायाँ तिघ्रा तथा बायाँ कुममा समेत नीलडाम भएको बताएकी छिन् ।
किशोरीको आमाको दिएको उक्त ‘बयान’जस्तै किशोरीको स्वास्थ्य परीक्षण रिपोर्टमा समेत बायाँ तिघ्रा र कुममा नीलडाम रहेको र उक्त नीलडाम लाठी वा त्यस्तै वस्तुको आक्रमणबाट भएको उल्लेख छ । तर किशोरीले भने उक्त नीलडाम बलात्कारको कोसिस गर्नेहरूको आक्रमणबाट भएको डाक्टरलाई बताएकी थिइन् ।
यहीबिचमा ज्यान मार्ने उद्योगका पीडित युवक सद्दाम अस्पतालको आइसियुबाटै राम्रोसँग बोल्न सक्ने र सम्झन सक्ने अवस्थामा पुगे । घटनाको ९ दिनपछि शनिबार मात्रै सद्दामले आफूमाथि किन र कसरी आक्रमण भयो र क-कसले कसरी र किन आक्रमण गरे भनेर विस्तृतमा बताए ।

सद्दामका आफन्तले लिएको भिडियो (जुन लोकपथसँग सुरक्षित छ) मा सद्दामले आफू र ती पीडित किशोरी सँगै सुतिरहेको अवस्थामा आफूहरूमाथि आक्रमण भएको बताएका छन् ।
ज्यान मार्ने उद्योगका पीडित २४ वर्षीय सद्दाम खाँ हुन्, जो विवाहितसमेत छन् । सद्दाम मुस्लिम समुदायका हुन् भने पीडित किशोरी हिन्दु समुदायकी । सद्दामले आफन्तलाई दिएको जानकारीअनुसार उनी र पीडित किशोरीबिच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको छ । सद्दामको गोठ र पीडित किशोरीको घर नजिकै छ भने कैयन् पटक सद्दाम र किशोरीले सँगै रात बिताएका छन् । सद्दामकै गोठमा सुत्नका लागि तयार पारिएको कोठा र बेडसमेत रहेको छ ।
गत पुस १७ गते पनि किशोरीले नै बोलाएपछि सद्दाम आफ्नो घर छाडेर गोठमा सुत्नका लागि पुगेका थिए । किशोरीले नै आफन्तको मोबाइलबाट मिसकल गरेपछि सद्दामले किशोरीलाई कलब्याक गरेका थिए । किनभने किशोरीसँग मोबाइल नभएकाले सधैँ झैँ आफन्तको मोबाइलबाटै मिसकल गरेपछि सद्दामले कलब्याक गरेका थिए । किशोरीले नै सद्दामलाई आउन आग्रह गरेपछि उनी गोठमा पुगेका थिए । सद्दामले किशोरीसँग रातको पौने १० बजे अन्तिमपटक कुराकानी गरेका थिए ।
त्यसपछि सद्दाम गोठमा पुगेको पाइएको छ । किशोरी पनि सद्दामको गोठमै राति नै आएको पाइएको छ । आफूहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र यसअघि नै यौन सम्बन्धसमेत राखेको सद्दामले बोलेको भिडियोमा उल्लेख छ ।
आफू र किशोरी सँगै सुतिरहेको अवस्थामा राति नै किशोरीका बुवा, लगायतका आफन्त र स्थानीयसमेत आएर आफू र किशोरीमाथि समेत कुटपिट गरेको सद्दामको भिडियोमा उल्लेख छ । आफूमाथि पटक पटक आक्रमण भएपछि आफू अचेत भएको र होस आउँदा अस्पतालमा पाएको सद्दामले बताएका छन् ।
यो पनि : ‘प्रेमी’सँग मध्यरातमा रंगेहात भेटेपछि आफन्तद्वारा किशोरी र युवकमाथि कुटपिट
लोकपथलाई प्राप्त केही फोटोमा किशोरी र सद्दामले सँगै बेडमा बसेर त्यसभन्दा पहिले नै खिचेको तस्बिरसमेत देखिन्छ । त्यसमा किशोरीले समेत मुस्कानका साथ ‘सेल्फी’ लिएकी छन् । केही सेल्फी किशोरीले र अधिकांश सेल्फी सद्दामले लिएको देखिन्छ ।
यस्तो घटनामा पीडित किशोरीको तर्फबाट परिवारका सबै सदस्यलाई फसाउने गरी सामूहिक बलात्कारको जाहेरी आएपछि प्रहरीले वास्तविकता जे हो, त्यही ल्याउन भनेका थिए । त्यसपछि किशोरीको परिवार भने प्रहरीले जाहेरी दर्ता गर्न नै नमानेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गर्न पुगेका थिए । उक्त पत्रकार सम्मेलन गर्नका लागि नेपालगञ्जका पत्रकार बताउने ठकुरी थरका व्यक्तिले उनीहरूलाई काठमाडौं ल्याएका थिए ।
तर सामूहिक बलात्कारको जाहेरी लैजाँदा मुद्दा नै कमजोर हुने भएपछि पीडित किशोरीको परिवारले मंगलबार सद्दामलाई मात्रै आरोपित बनाई जाहेरी लिएर गएका हुन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणी सम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ । दफा २१९ को उपदफा १ मा जबरजस्ती करणी गर्न नहुनेबारे उल्लेख छ भने उपदफा २ मा १८ वर्षमुनिका बालिकासँग मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि त्यसलाई बलात्कार मानिने व्यवस्था छ ।

यस्तो अवस्थामा मन्जुरी लिएर आपसी सहमतिमै यौन सम्बन्ध स्थापित गरेको भए पनि त्यो जबरजस्ती करणी नै मानिने व्यवस्था भएकाले नाबालिग बलात्कारको कसुरमा अनुसन्धान सुरु भएको बाँके प्रहरीका प्रमुख एसपी अंगुर जिसीले लोकपथलाई बताए ।
यता प्रहरीले ज्यान मार्ने उद्योगको अनुसन्धान र बलात्कारको अनुसन्धानलाई सँगै लैजाने भएको छ । बलात्कार मुद्दामा आरोपित तथा ज्यान मार्ने उद्योगका पीडित सद्दाम यतिबेला भारतको लखनउमा उपचाररत छन् । उनलाई भारतीय प्रहरीसँगको समन्वयमा निगरानीमा राखिएको बाँके प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया