माघी, चाकु र टोखा : सक्खरको सुवासले मगमगाएको एउटा पहिचान

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरी किनारमा अवस्थित टोखा नगरपालिका माघ महिनाको आगमनसँगै छुट्टै रौनकले भरिन्छ । जाडोको कठ्याङ्ग्रिने चिसोबिच यहाँको हावामा एउटा मीठो सुवास फैलिन्छ त्यो हो, उखुको सक्खरबाट बनाइने परम्परागत चाकुको सुवास । यही चाकु जुन माघीको अनिवार्य परिकार मानिन्छ, आज त्यही चाकु देशभर टोखाको पहिचान बनेको छ ।

चाकु केवल गुलियो खानेकुरा मात्र होइन, यो टोखाको इतिहास, संस्कृति र श्रमको प्रतिफल हो । भनिन्छ, पहिलादेखि नै टोखामा उखु खेती र सक्खर उत्पादन हुँदै आएको थियो । उपत्यकाको उर्वर माटो, पर्याप्त पानी र मेहनती स्थानीयवासीका कारण यहाँ चाकु उत्पादनले निरन्तरता पायो । समय फेरिए पनि चाकुको स्वाद र महत्त्व भने उस्तै रह्यो ।

आज पनि माघ लाग्नुअघि टोखास्थित काँठ क्षेत्र चाकु लगायत परिकारले थप मग्मगाइरहेको हुन्छ । ठुला कराईमा उम्लँदो सक्खर, काठका डाडु चलाउँदै पसिनामा भिजेका कामदार र वरिपरि फैलिएको गुलियो बास्नाले सिंगो टोखा मगमगाएको देखिन्छ । चारैतिर चाकुको सुवासले मानिसलाई आफैँ तानिरहेको हुन्छ ।

टोखा नगरपालिकाका मेयर रमेश डंगोलले आगामी वर्षदेखि माघ १ गतेलाई ‘चाकु दिवस’ का रूपमा मनाइने बताए । उनले भने ‘चाकु हाम्रो टोखाको पहिचान हो । त्यसलाई जोगाउनका लागि यदि व्यवसायीहरू योजना बनाएर नगरपालिका कार्यालय आएको अवस्थामा ती व्यवसायीहरूलाई ५० लाख रुपैयाँसम्म अनुदान प्रदान  गर्ने छौँ ।’ यसले परम्परागत उद्योगलाई संरक्षण मात्र होइन, नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ ।

टोखा नगरपालिकाका मेयर रमेश डंगोल

टोखामा विगत ३० वर्षदेखि चाकु व्यवसाय गर्दै आएका काशीलाल श्रेष्ठले आफूहरू चार पुस्तादेखि यही पेसामा संलग्न रहेको बताए । उनले आफूहरू यो पेसामा लागेकोमा गर्व पनि महसुस गरे । उनले भने, ‘हामी अब फेरि उखु खेती सुरु गर्ने सोचमा छौँ । कच्चा पदार्थ आफ्नै ठाउँमा उत्पादन भए लागत घट्छ र गुणस्तर पनि राम्रो हुन्छ ।’

उनका अनुसार, पहिले टोखाको धेरै खेतमा उखु खेती हुन्थ्यो, तर समयसँगै त्यो हराउँदै गयो । माघको सिजनमा मात्रै उनको कारखानामा करिब २० जना कामदार खटिन्छन् । कामको चाप यति धेरै हुन्छ कि सबैलाई भ्याइन भ्याइ हुन्छ । 

तर पछिल्ला वर्षहरूमा एउटा समस्या भने गम्भीर बन्दै गएको छ । युवा पुस्ता वैदेशिक रोजगारीमा जानु । विशेष गरी जाडो महिनामा अनुभवी कामदार पाउन गाह्रो हुने गरेको उनी बताउँछन् । ‘युवाहरू बाहिर गएका छन्, सीप सिक्ने मान्छे कम हुँदैछन्, ’उनले चिन्ता व्यक्त गर्दै भने । 

काशीलाल श्रेष्ठ

तर उनीहरूमा मेयरको घोषणापछि भने केही आशा भने पलाएको छ । यदि राज्यको सहयोग र सम्मान मिल्यो भने परम्परागत पेसा फेरि पुनर्जीवित हुन सक्ने विश्वास उनीजस्ता व्यवसायीको छ ।

टोखाको चाकु आज केवल माघीको परिकार मात्र होइन, यो यहाँको सांस्कृतिक सम्पदा हो । चिसो मौसममा शरीर तताउने, परिवारलाई एकै ठाउँमा बाँध्ने र पुस्तौँदेखिको सीपलाई जोगाइराख्ने माध्यम पनि हो । चाकुको एउटा सानो टुक्रामा टोखाको इतिहास, मेहनत र पहिचान मिसिएको छ ।

अन्ततः जब माघ लाग्छ, टोखा केवल एउटा ठाउँ रहँदैन ,यो चाकुको राजधानी बन्छ र त्यो गुलियो सुवासले हामीलाई सम्झाउँछ, परम्परा जोगाउनु भनेको इतिहास जोगाउनु हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?