शोभा पाठकमाथि आक्रमण गर्ने महेश बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध मुद्दा दर्ता

लोकपथ
0
Shares

काठमाडौं । माइतीघर मण्डलामा धर्नामा रहेकी शोभा पाठकमाथि कुटपिट गरी ज्यान मार्न खोजेको भन्दै प्रहरीले महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारीसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनका आधारमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिम ज्यान मार्ने उद्योगको कसुरमा अम्बिका बस्नेत लगायतका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो ।

शोभा पाठक भन्ने जानुका पाठकमाथि गत वैशाख १४ गते माइतीघरमा आमरण अनसनमा बसिरहेकै समयमा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत लगायतका समूहले आक्रमण गर्दा पाठक घाइते बनेकी थिइन् । अम्बिका बस्नेतले आफू र आफ्नो परिवारको चरित्र हत्या गरेको भन्दै पाठकमाथि आफ्नो समूह नै पठाएर हातपात गरेकी थिइन् । त्यस लगत्तै प्रहरीले अम्बिका लगायतका व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पाठकको जाहेरीमा के छ ?
पीडित शोभा पाठकले प्रहरीमा दिएको जाहेरीमा महेश बस्नेतकी पत्नी अम्बिका भण्डारी बस्नेतको नेतृत्वमा आएका १० जनाको समूहले वैशाख १४ गते दिउँसो आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको उल्लेख छ । आक्रमण गर्न आउनेहरूले शोभा पाठकलाई ‘मार, हान, ज्यान मारी दिऊँ’ भन्दै सांघातिक आक्रमण गरेको र आक्रमणबाट आफ्नो टाउको तथा संवेदनशील अंगहरुमा गम्भीर चोट पुगेको उल्लेख छ । त्यसबाहेक आक्रमण गर्न आउनेहरूले आफूले घाँटीमा लगाएको २ लाख ६५ हजार ६४२ रुपैयाँको सुनको सिक्री समेत लुटेर लगेको भन्दै अनुसन्धान गरी घटनामा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग गरेकी थिइन् । पाठकले आफ्नो जाहेरीमा अम्बिका भण्डारी बस्नेत, शर्मिला बस्नेत, गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना केसी, कमला बस्नेत र निता खत्री गरी १० जनाविरुद्ध किटानी जाहेरी नै दिएकी थिइन् ।

प्रतिवादीहरूले के के भने ?
ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दाकी मुख्य प्रतिवादी अम्बिका भण्डारी बस्नेतले दिएको बयानमा आफूमाथि बारम्बार साइबर आक्रमण र तथानाम गालीगलौज भएपछि आफू साइबर ब्युरोमा उजुरी गर्न जाँदै गर्दा शोभा पाठकले फेरि पनि तथानाम गाली गलौच गरेकाले सामान्य झडप भएको बयान दिएकी छन् । उनले आक्रमणको पूर्व योजना अस्वीकार गर्दै सिक्रीका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् ।

अम्बिका भण्डारी बस्नेतको बयान यस्तो छ :
मेरो श्रीमान् महेश बस्नेतसँग निज जाहेरवाला शोभा भन्ने जानुका पाठकको के कसरी चिनजान हुन पुग्यो थाहा भएन । निजले विगतका दिनहरूमा मेरो श्रीमानविरुद्ध विभिन्न आरोप प्रत्यारोप लगाई प्रहरी कार्यालयहरूमा उजुरी दिई सामाजिक सञ्जाल तथा सामाजिक सञ्जालहरू मार्फत समेत सामाजिक रूपमा आरोप लगाउने कार्य गर्दै आएकी हुँदा निजको उक्त कार्यबाट म र मेरो परिवारलाई मानसिक रूपमा पीडा पुगी वृद्ध आमा बुबा र म आफू पनि डिप्रेसनको बिरामी भएका थियौँ । यसरी जाहेरवालाले श्रीमान् माथि लगाइँदै आएको आरोप प्रत्यारोपको सम्बन्धमा अनुसन्धान गर्ने निकाय तथा जिल्ला सरकारी वकिल कार्यालयहरूबाट समेत मुद्दाको अन्तिम टुंगो लागिसकेको अवस्थामा पनि निज जाहेरवालाले पुनः श्रीमान् र मेरो परिवारमाथि निरन्तर आरोप लगाई पटक पटक काठमाडौं माइतीघर अगाडि श्रीमानको फोटो सहितको ब्यानर राखी नाटकीय अनसन बस्ने कार्य गर्दै आएकी हुँदा उक्त कुरा सहनै नसकेर म मिति २०८३।०१।१४ गते करिब १०ः३० बजेको समयमा साइबर ब्युरो भोटाहिटी काठमाडौंमा जाहेरवाला विरुद्ध उजुरी दिन भनी माइक्रो बसमा चढी भक्तपुर गुण्डुदेखि निस्केकी हुँ । पछि उक्त माइक्रो बसमा म सँगै अन्य विभिन्न स्थानहरूबाट हाल पक्राउ परी आएकी प्रतिवादीहरू मध्ये केही सोही माइक्रो बसमा चढी काठमाडौं आउँदै गर्दा माइतीघर मण्डला अगाडि मलाई कुरी बस्दै आएकी रेखा न्यौपाने, प्रगति थापा लगायतका केही बहिनीहरूलाई भेटी सँगै उजुरी गर्न जाने भनेकी हुँदा म माइतीघर मण्डला नपुग्दै बबरमहल अगाडि गाडीबाट ओर्ली पैदल हिँडी माइतीघर मण्डला अगाडि मलाई कुरी बसेकी रेखा न्यौपाने लगायतका बहिनीहरूसँग भेटेकी हुँ । निज रेखा न्यौपाने लगायतका बहिनीहरूको बीमा सम्बन्धी काम रहेको हुँदा निजहरू म भन्दा अगाडि नै माइतीघर मण्डला अगाडि मलाई कुरी बसेका थिए । यसरी उजुरी दिन भनी भक्तपुरदेखि काठमाडौं माइतीघर मण्डला अगाडिसम्म आइपुग्दा मेरो श्रीमानलाई आरोप लगाउने शोभा भन्ने जानुका पाठकले अनसन बसेको स्थानबाट नै उल्टै मलाई तथानाम गाली गलौच गर्न आएकी हुँदा रिसको आवेगमा आई सहनै नसकेर निज अनसन बसेको स्थानतर्फ गई निजलाई किन गाली गलौच गरेको भनी सम्झाउन भनी जाँदा एक्कासि निज जाहेरवालासँग मेरो झगडा हुन पुगेको हो । झगडामा हामीहरू दुवै जनाले एक अर्कालाई कपाल लुछी भुत्ला भुत्ली गर्ने, लछार पछार गर्ने कार्य भएको थियो । जाहेरवालाको कपाल लुछी भुताल्ने क्रममा मलाई समेत सोही स्थानमा रहेको एक जना नाम समेत थाहा नभएको पुरुष व्यक्ति र केही महिलाहरूले समेत पछाडिबाट मेरो कपाल समाती भुईँमा लडाई लछार पछार गरेको हो । झगडा हुँदा अ–आफ्नो काम विशेषले सँगै माइक्रोमा चढी आउने र मलाई माइतीघर मण्डला अगाडि कुरी बसेका बहिनी तथा साथीहरूले शोभा भन्ने जानुका पाठकलाई कुटपिट लछार पछार गरेको सम्बन्धमा मलाई तत्कालीन समयमा कुनै जानकारी भएन । जाहेरवाला शोभा भन्ने जानुका पाठकलाई ज्यानै लिने उद्देश्यले कुटपिट गर्न गएको होइन । एक्कासि माइतीघर मण्डलासम्म आइपुग्दा निजले मलाई तथानाम श्रीमानको नाम लिई गाली गलौच गरेको हुँदा दुई जनाबिच सामान्य झडप मात्र हुन पुगेको हो । निज र सो स्थानमा रहेको एक जना पुरुष व्यक्तिले समेत मलाई हातपात गर्दा उल्टै मेरो दाहिने हातको नाडीको भागमा नीलडाम भई सामान्य कोरिएको घाऊ चोटपटक समेत लागी लगाएको कपडा समेत च्यातिएको अवस्था छ । जाहेरवाला शोभा भन्ने जानुका पाठकले जाहेरी दरखास्तमा उल्लेख गरेको निजको सुनको सिक्रीको बारेमा मलाई कुनै जानकारी छैन । मैले ज्यान मार्ने उद्योग सम्बन्धी कसुर अपराध गरेको छैन ।

प्रतिवादी सोनु बरालले गरेको बयानमा इन्स्योरेन्सको कामले माइतीघर आएको र झगडा छुट्टाउन खोजेको बताएकी छन् । प्रतिवादी सविना केसीले जावालाखेल जाने क्रममा घटनास्थल छेउबाट निस्कँदै गर्दा पक्राउ परेको बताएकी छन् । यस्तै कमला बस्नेतले बहिनीको घर जाँदै गर्दा झगडा हेर्न गएको र पछि मात्र पक्राउ परेको दाबी गरेकी छन् । निता खत्री बस्नेतले भने आफू वीर अस्पताल जाँदै गर्दा झगडा देखेको तर कुटपिट नगरेको र पिसाब फेर्न गएको बेला पक्राउ परेको बयान दिएकी छन् ।
प्रतिवादी शर्मिला बस्नेतले दिदी अम्बिका र पीडितबिचको झगडा छुटाउन खोज्दा आफू पनि नियन्त्रणमा परेको र उल्टै आफूलाई कुटपिट भएको बताएकी छन् । उनले पनि पूर्व योजना बनाएर पाठकमाथि आक्रमण गरेको अस्वीकार गरेकी छन् ।

जिल्ला प्रहरी परिसरले तयार पारेको प्रमाणका रूपमा घटनास्थलको सिसिटिभी फुटेजलाई उल्लेख गरिएको छ । सिसिटिभी फुटेजमा प्रतिवादीहरूले मास्क तथा कपडाले अनुहार ढाकी समूहमै आएर आक्रमण गरेको देखिएको उल्लेख छ ।

शोभा पाठकको उपचारमा ४ हजार ७५९ रुपैयाँ खर्च भएको र उनको हराएको भनिएको सुनको सिक्रीको मूल्य २ लाख ६५ हजार ६४२ रुपैयाँसमेत बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।

बुझिएका व्यक्ति महेश बस्नेतले गरेको घटना विवरण कागजमा पनि पूर्व योजना बनाएर आक्रमण गर्न पठाएको कुरा अस्वीकार गरेका छन् । बस्नेतले पूर्व योजना बनाएर आक्रमणका लागि श्रीमती लगायतलाई पठाएको कुरा अस्वीकार गर्दै पाठकले आफूमाथि र हालका प्रतिवादीहरूमाथि झुट्टा मुद्दा लगाएको बताएका छन् । आफ्नी श्रीमती अम्बिका बस्नेत आफैँ पीडित शोभा पाठकबाट पीडित व्यक्ति भएको र उक्त घटनाको भिडियो हेर्दा ज्यान मार्ने उद्योगको नभई सामान्य झगडा भएको भन्दै त्यसै अनुसार कानुनी उपचारमा जानुपर्ने बताएका छन् ।

कुटपिटको घटना भएको दाबी गरिए पनि प्रहरीले भने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गराएको छ ।

यस मुद्दामा मंगलबारबाट प्रतिवादीहरूसँग बयान लिइसकेपछि थुनछेक बहस हुनेछ । त्यसपछि प्रतिवादीलाई तारेख वा धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?