बन्दसत्रको हलमा गगनले भने– ‘यो विद्रोह हो, इतिहासमा लेखिनेछ’

लोकपथ
364
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन पार्टीभित्रको विद्रोह रहेको बताएका छन् ।

मंगलबार साँझ विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले नियमितता चिर्न खोजेकाले यसलाई विद्रोहको रुपमा बुझ्न आग्रह गरे ।

त्यस्तै आफूहरुले पार्टीभित्र प्रश्न गरेर विद्रोह गरेको तर त्यो विद्रोह आफूहरुको लागि मात्रै नभएको जिकिर गरे ।

‘यो एउटा नियमित कार्यक्रम होइन । हामी एउटा विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो । प्रश्न गर्नु भनेको आफैँमा पनि एउटा विद्रोह हो,’ महामन्त्री थापाले भने, ‘कहिलेकाहीँ मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो। हामीले प्रश्न गर्‍यौं। प्रश्न हाम्रो लागि गरेको होइन ।’

त्यस्तै आम प्रतिनिधिहरुको भावना अनुसार गरिएको दोस्रो विशेष महाधिवेशनको छुट्टै महत्व रहेको र त्यो इतिहासमा लेखिने समेत दाबी गरे ।

‘नेपालको इतिहासमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको छुट्टै महत्वका साथ लेखिनेछ। २०१४ सालमा मैले विशेष महाधिवेशनमा भाग लिएको भनेर हाम्रो मञ्चमा गर्वका साथ ओमकार श्रेष्ठ हिजो उभिनुभयो र हामीले उहाँको कुरा सुन्यौं। धेरै वर्ष पछाडि २०८२ सालमा नेपाली कांग्रेसको विशेष महाधिवेशनमा म पनि सहभागी भएको थिएँ भनेर आज उपस्थित भएकोमध्ये हामी सबैले गर्वका साथ उभिने मौका पाउँछौँ,’ महामन्त्री थापाले भने ।

आइतबारबाट सुरु भएको विशेष महाधिवेशन दुई दिन गर्ने भनिए पनि कार्यतालिका लम्बिएको छ । भोलि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । त्यसो त निर्वाचनबाट नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको काम समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?