काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई एक भएर अघि बढ्न आह्वान गरेका हुन् ।
अहिले पार्टी गम्भीर मोडमा रहेको बताउँदै खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न समेत अपील गरेका छन् । साथै अहिले देखिएको असहज परिस्थितिलाई सबै मिलेर हल गर्न समेत भनेका छन् ।
‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ ।’
त्यसो त फागुन २१ को निर्वाचनपछि आगामी वैशाखमा १५औँ महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्व सहज ढंगले परिवर्तन गर्न सकिने अवस्था रहेको समेत संस्थापन पक्षको निचोड रहेको छ । साथै विशेष महाधिवेशनले पार्टीलाई विभाजन गर्न सक्ने यसअघि नै निष्कर्ष निकालेको संस्थापनले आगामी निर्वाचनका लागि एक भई अघि बढ्न समेत आग्रह गरेको छ ।
‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ बैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ । तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसो कांग्रेसको बन्दसत्रमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ । त्यसबारे छलफलका लागि देउवाले आफू निकटका नेताहरुलाई बोलाएका छन् । अहिले देउवा निवासमा नेताहरुको छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया