काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टी विशेष महाधिवेशन पक्षको विजय भएको टिप्पणी गरेका छन् ।
देशभरका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा आएकाले विशेष महाधिवेशन पक्षधर नै नेपाली कांग्रेस हो भन्ने पुष्टि भएको जिकिर गरे ।
उनले पार्टीको संस्थापन पक्षलाई पुल र विशेष महाधिवेशन पक्षधरलाई नदीको रूपमा चित्रण गर्दै नदी र पुल अलग भएर बस्नै नसक्ने तर्क गरे ।
काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता आचार्यले विशेष महाधिवेशनको भावनालाई पार्टीका कुनै पनि पदाधिकारीले लत्त्याउने चेष्टा गर्न नमिल्ने बताए ।
उनले भने, ‘यो उपस्थितिले विधान अनुसार पार्टी चल्नुपर्छ भन्नेहरूको जय भएको छ । आज विधिलाई स्थापना गर्नका निम्ति तपाईँहरूको उपस्थिति सकारात्मक कारक बनेको छ । अव भोलीबाट नेपाली काँग्रेस हिजोको जस्तो, आजको जस्तो मात्रै काँग्रेस रहने छैन । बहुमत प्रतिनिधि साथीहरूको भावनालाई कुनै पनि पार्टीको पदाधिकारीले लत्त्याउने चेष्टा फेरि गर्नेछैन । एउटा विधिको स्थापना हुनेछ । बहुमत महाधिवेशन प्रतिनिधि जहाँ छन्, त्यही हुन्छ पार्टी । पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची महाकालीका प्रतिनिधिहरू नदीको रूपमा एकातिर उभिने । नदी एकातिर, पुल अर्कोतिर हुन सक्दैन । ’
कांग्रेस नेता आचार्यले मुलुकलाई अघि बढाउने कार्यभारसहित अघि बढ्न पनि युवा नेताहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया