स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ : मन्त्री गौतम

लोकपथ
84
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य कर कोषबाट संकलित बजेट स्वास्थ्य मन्त्रालयमै खर्च हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालयलाई दबाब दिएकी छन् । 

विभिन्न देशका अनुभव र स्वदेशी विज्ञहरूको सुझावका आधारमा पनि उक्त बजेट स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने उनको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य कर कोषको सम्पूर्ण बजेट स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने बताइन् । बजेट माग गर्दा प्रमाण र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै उनले मातहतका निकायलाई जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिइन् ।

मन्त्री गौतमले स्वास्थ्य करबाट विशेषगरी धूम्रपानजन्य वस्तुबाट उठेको रकमसमेत स्वास्थ्य क्षेत्रमा पूर्ण रूपमा नआएको उल्लेख गरिन् । ‘अब सरकार र अर्थ मन्त्रालयलाई दबाब दिनुपर्छ, तर इभिडेन्सको आधारमा,‘उनले भनिन्, ‘विश्लेषण गरेर प्रमाणसहित बजेट माग गरिनुपर्छ, केवल पैसा मागेर मात्रै हुँदैन ।’

उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, तिनका समाधान र आवश्यक बजेटको स्पष्ट आधार प्रस्तुत गरेमा मात्रै सरकारले स्रोत व्यवस्थापन गर्ने स्पष्ट पारिन् । देशको समग्र आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर बजेट माग गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री गौतमले मुलुक आर्थिक चापमा रहेको उल्लेख गर्दै जिम्मेवार नागरिक र विज्ञका रूपमा तथ्य र प्रमाणका आधारमा सरकारलाई मार्गदर्शन गर्नुपर्ने बताइन् । 

गलत निर्णय भएमा त्यसलाई सच्याउन सुझाव दिनु पनि आफ्नो दायित्व भएको उनले स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?