वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरेको छ ।
यसअघि आज दिउँसो १ बजेसम्मका लागि लागू गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्मका लागि निरन्तरता दिइएको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, शान्ति सुरक्षाको अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाइएको हो ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु अवधि थपिएको हो । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लंघन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ । आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया