उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा श्रीमतीको हत्या गरेर श्रीमानले आइतबार बिहान आत्महत्याको प्रयास गरेको छ । श्रीमान्–श्रीमतीबीच झगडा हुँदा श्रीमान् ३० वर्षीय खगेन्द्र राईले २७ वर्षीया भावना भन्ने गंगा राईलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिए ।
आइतबार बिहान ८ बजेको समयमा छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको ९ बजेर ५० मिनेटमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
श्रीमतीलाई छुरा प्रहार गरेका राईले आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेपछि स्थानीयले तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ । उनको प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया