कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रहरूमा (ब्ल्याक स्पोट’) सचेतनामूलक बोर्ड राख्ने कामलाई तीव्रता दिएको छ ।
ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्क विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता स्थानहरूलाई ब्ल्याक स्पोटको रूपमा वर्गीकरण गरेको छ । ती क्षेत्रमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्र गतिमा रहेका चालकलाई झस्काएर गति नियन्त्रण गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथका अनुसार, ‘सवारी दुर्घटना केवल प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडक अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ । भौतिक पूर्वाधार सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु आवश्यक छ । यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित क्षति न्यूनीकरण गर्न मद्दत गर्नेछन् ।’
उनले केवल प्रहरीको प्रयासले मात्र दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले सार्वजनिक यातायात र विद्यालय बसका चालकलाई नियमित प्रशिक्षण दिनुका साथै विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी गराउने काम पनि भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) ओम रानाले यस अभियानलाई प्रदेशभरि सुरक्षा संस्कृतिका रूपमा विकास गर्ने योजना रहेको बताए । उनले समुदाय, ट्राफिक प्रहरी र सरोकारवाला निकायबिचको समन्वयले मात्र सडक सुरक्षित बनाउन सकिने उल्लेख गरे ।
सवारीसाधनको बढ्दो चाप र साँघुरो सडकका कारण प्रदेशमा वार्षिक हुने क्षतिलाई कम गर्न यस्ता सचेतनामूलक बोर्ड र प्रवर्द्धनात्मक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया