कञ्चनपुर। भारतसँग जोडिएको खुला सीमा, प्रविधिको दुरुपयोग र आफन्तको संलग्नताका कारण कञ्चनपुर क्षेत्र मानव बेचबिखन र ओसारपसारको उच्च जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकी मात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।
माइती नेपालका संयोजक महेश्वरी भट्टका अनुसार पछिल्लो समय मानव बेचबिखनको स्वरूप बदलिँदै गएको छ । वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन र अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढेका छन् । गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानको संलग्नता यसमा मुख्य चुनौती बनेको छ ।
भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण संकलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौती हुन् । उनले भने,‘पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढाएको छ । पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारी प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गर्ने नयाँ शैली अपनाएका छन् ।’
मानव बेचबिखनमा परेकाहरूलाई यौन शोषण, बालश्रम, जबरजस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणमा समेत प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय अपराध सञ्जालको संलग्नता पनि पाइएको छ ।
पछिल्लो एक वर्षमा पश्चिमी सीमानाका गड्डाचौकी र आसपासका क्षेत्रबाट २०९ महिला र बालबालिकालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ९० बालबालिका र ११९ महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकीबाट ८९, महेन्द्रनगर बसपार्क र अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ र झोलुङ्गे पुलबाट २९ जना रहेका छन् ।
उद्धार गरिएका मध्ये १८२ जना सुदूरपश्चिम प्रदेशका नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुर १००, कैलाली ३२, बैतडी १४, बझाङ १० र डोटी ८ जना रहेका छन् ।
भारतका विभिन्न सहरबाट पछिल्लो तीन वर्षमा ४९ महिला र बालबालिकाको उद्धार भएको छ। सन् २०२३ मा २५, २०२४ मा १४ र २०२५ मा १० जनाको उद्धार गरिएको माइती नेपालले जनाएको छ । यसै वर्ष बिहार, चण्डिगढ, मुम्बई, दिल्ली र हैदरावादबाट ८ बालिका र २ महिलाको उद्धार भएको छ ।
मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा १२,८५८ सवारीसाधन जाँच गरिएको छ । ४४,५८१ जनालाई सुरक्षित बसाइँसराइ र मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ। २२७ जनालाई मनोसामाजिक परामर्श दिइएको र २१७ जनाको पारिवारिक पुनर्मिलन भएको छ ।
भट्टले घरदैलो कार्यक्रम, विद्यालय सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । प्रहरी प्रशासनसँगको समन्वयमा जबरजस्ती करणीसम्बन्धी ४ र मानव बेचबिखनसम्बन्धी १ मुद्दा दर्ता भई कानुनी प्रक्रियामा छन् ।
संयोजक भट्टका अनुसार खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमा स्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्य थप प्रभावकारी बनाउन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया