वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

लोकपथ
70
Shares

पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै  ३० अर्ब २५ करोड संकलन गरेको छ । 

वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका  ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए । 

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट  १२ अर्ब ७४ करोड रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ । 

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड राजस्व संकलन गरेको छ ।  त्यस्तै कपडाहरूको आयातबाट भने  चार अर्ब ८५ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?