काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व फेर्न एकमत भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरको ज्ञापनपत्र बुझ्दै महामन्त्रीद्वयले सो कुरा बताएका हुन् ।
ज्ञापनपत्र बुझेपछि महामन्त्री थापाले पुस २८ गतेभित्र नियमित महाधिवेशन गर्न सम्भव देखिएको भए विशेष महाधिवेशनको मागको औचित्य सकिने तर त्यो सम्भव नदेखिएपछि विशेष महाधिवेशनको विकल्प नरहेको बताए ।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्था रहेको बताउँदै ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेको उल्लेख गर्दै त्यसलाई मिचेर जाने अधिकार कसैलाई पनि नभएको बताए ।
‘पुसभित्र नियमित महाधिवेशन हुने हो भने विशेष महाधिवेशन मागकर्ता ५४ प्रतिशत प्रतिनिधिहरूको माग सम्बोधन हुने स्थिति थियो । विधान अनुसार पुसभित्र विशेष महाधिवेशन अनिवार्य हुनुपर्छ । अधिवेशन नगरेका कारण अब विशेष महाधिवेशन अनिवार्य दायित्व हो’, महामन्त्री थापाको भनाइ रहेको छ ।
त्यस्तै उनले जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत आफूहरुले उक्त कुरा राख्ने र सोही अनुसार अघि बढ्ने बताए ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको कुरामा सहमति जनाउँदै विशेष महाधिवेशनको विकल्प नरहेको स्पष्ट पारे । साथै आफूहरुले बैठकमा परिस्थितिबारे जानकारी गराउने र विशेष महाधिवेशनबाटै नेतृत्व फेर्ने कुरामा जोड दिने बताए ।
‘गगनजी र मेरो धारणा एउटै हो । अब विशेष महाधिवेशनको कार्यतालिका बनाउन कार्यसम्पादन समितिमा प्रस्ताव राख्छौँ’, शर्माले भनेका छन् ।
त्यसो त आज विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नियमित महाधिवेशन हुने अवस्था नदेखिएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् । उनीहरुले विशेष महाविधेशनको मिति र स्थान तोक्न दबाब बढाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया