काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ । काठमाडौं उपत्यकाभित्रै चन्द्रागिरि सम्भवतः पहिलो पालिका बन्ने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख घनश्याम गिरीका अनुसार यससम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ ।
उनका अध्यक्षतामा बुधबार बसेको सामाजिक विकास समितिको बैठकले घोषणा कार्यक्रमको टुंगो लगाएको हो । नगरका १५ वडामध्ये वडा नम्बर १२ मात्रै ‘बालश्रममुक्त वडा’ घोषणा हुन बाँकी रहेकामा आगामी हप्ता हुने विशेष समारोहमा वडा १२ सहित सम्पूर्ण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिनेछ ।
‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते चन्द्रागिरि–१४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो । त्यसयता चरणबद्ध रूपमा सबै वडाहरूलाई बालश्रममुक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र सबै वडालाई बालश्रममुक्त बनाउने लक्ष्य लक्ष्यअगावै पूरा भएको हो ।
नगर प्रमुख गिरीले बाल संरक्षण र बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले भने, ‘बालश्रममुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट विनियोजन गरिएकै कारण आज ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अवस्थामा आइपुगेका हौँ ।’
नगरपालिकाले ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५)’, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन गर्न) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा चन्द्रागिरि नगरपालिकाको कार्य योजना २०७६ अनुसार बालश्रम निवारणका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
चन्द्रागिरि–१५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणा गर्न आवश्यक सूचकहरू पूरा गर्दै वडालाई बालश्रममुक्त बनाइएको बताए । उनले घोषणापछि पनि दिगोपन र निरन्तरताका लागि संघसंस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, संघसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको संयुक्त प्रयासकै कारण नगरपालिका यो चरणमा पुगेको जानकारी दिइन् । यस कार्यक्रममा बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल लगायत संस्थाको सहयोग रहेको बताइएको छ ।
यसअघि देशभरका छ स्थानीय तहमात्रै ‘बालश्रम मुक्त’ घोषणा भएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । तथ्यांकअनुसार बालकभन्दा बालिका श्रममा संलग्न हुने दर बढी रहेको देखिन्छ ।
चन्द्रागिरिको घोषणा स्थानीय तहमा बालश्रम अन्त्यतर्फको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया