सिरहा । लगातारको शीतलहरका कारण जिल्लामा जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रका दैनिक क्रियाकलाप कष्टकर बनेका छन् । बालबालिका, वृद्ध वृद्धा र विपन्न समुदाय यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
स्थानीयवासी बिहानैदेखि आगो ताप्न बाध्य भएका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घटेको छ । यसैबिच, लहान नगरपालिकाले बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीका अनुसार राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोक लगायतका स्थानमा दाउरा बालिएको छ । साथै, २४ वटै वडामा आवश्यक स्थानमा दाउरा वितरणका लागि तयारी भइरहेको छ ।
नगरपालिकाले गरिब तथा विपन्न समुदायका ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने योजना पनि बनाएको छ । प्रमुख चौधरीले भने, ‘चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले सक्दो पहल गरिरहेको छ ।’
विद्यालयमा विद्यार्थीको उपस्थितिमा कमी आएको विषयमा माध्यमिक विद्यालय पडरिया थारु टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए । उनका अनुसार विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा नियमित उपस्थिति हुन सकिरहेको छैन ।
डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको छ । सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन पाँच लाख बजेट विनियोजन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको छ र छिट्टै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्ने लगायतका आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ ।
जिल्लामा निरन्तरको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया