एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

लोकपथ
56
Shares

खोटाङ । खोटाङमा भौतिक पूर्वाधार कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोसी प्रदेश सरकारबाट स्वीकृत ६६ करोड रुपैयाँ बराबरको १२३ आयोजना मध्य ठेक्का आह्वान भएको हो ।

भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालका अनुसार, सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रिया पनि अघि बढेको छ । उनले भने, ‘जग्गा स्वामित्व नभएका वा स्थानीय विवादमा रहेका आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ। ती पनि चाँडै प्रक्रिया अगाडि बढाउनेछौँ ।’

खोटाङमा दश स्थानीय तह रहेको र यस वर्ष एक अर्बभन्दा बढीको १६४ आयोजना स्वीकृत भएको छ । ती आयोजनामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की र झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत कार्यहरू छन् ।

भौतिक पूर्वाधार कार्यालयले बहुवर्षीय आयोजनाका लागि २४ प्रस्ताव पेस गर्नुपर्ने र १० आयोजना चालु अवस्थामा रहेको जनाएको छ । केही आयोजनामा ठेक्का आह्वानसँगै निर्माण पनि सुरु भइसकेको छ ।

गत कात्तिक २ देखि पुस ३ सम्म ११२ आयोजनाको ठेक्का आह्वान भएपछि निर्माण कम्पनीहरूले सम्झौता गर्न भ्याइनभ्याई भएको थियो । यस वर्ष खोटाङमा अहिलेसम्मकै सबैभन्दा बढी आयोजना र बजेट विनियोजन गरिएको दाबी गरिएको छ ।

प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले खोटाङका सबै स्थानीय तहलाई समेट्दै एकैसाथ १६४ आयोजनाका लागि बजेट विनियोजन गरेपछि स्थानीयवासीहरू खुसी व्यक्त गर्दै मन्त्री राईलाई धन्यवाद दिइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले आयोजनालाई पारदर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सुझाव पनि दिएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको सार्वजनिक रातो किताब अनुसार सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि १० करोड रुपैयाँ बजेट उपलब्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?