विराटनगर । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध लगाउने कानुनको खुलेआम उल्लंघन गर्दै आएका विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले ‘मिडनाइट अपरेसन’ चलाएको छ ।
आइतबार मध्यराति गरिएको छापामा महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको प्रत्यक्ष नेतृत्वमा खटिएको विशेष टोलीले विराटनगरस्थित ‘बिग होटल’ मा सञ्चालित चैम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ मा रहेको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको थियो ।
प्रहरीका अनुसार राति ११ बजे गरिएको उक्त कारबाहीमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत, च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी २० जना नेपाली जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
नेपालको प्रचलित कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, यी क्यासिनोहरूले कानुनको धज्जी उडाउँदै नेपालीलाई प्रवेश गराएर लाखौँको जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले यो एक्सन लिएको हो ।
एसपी कटुवालले घटनाको पुष्टि गर्दै भने, ‘हामीले छापा मार्दा क्यासिनोभित्र नेपालीहरू निर्बाध रूपमा खेलिरहेको फेला पार्यौँ । कानुनको बर्खिलाप गर्ने क्यासिनो व्यवस्थापन र त्यहाँ खेल्न जाने सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।’
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया