महाधिवेशनमा प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछ : गोकर्ण विष्ट

लोकपथ
119
Shares

काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले ११औँ महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा, पार्टीभित्र प्रतिस्पर्धा गर्ने व्यक्तिलाई पार्टीको हित नचाहने भनेर गलत भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका हुन्  ।

विष्टले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने उल्लेख गर्दै भने, ‘संकटले चुनौती सामना गर्ने तागत पैदा गर्छ। त्यसैले यदि देशमा संकट छ भने यसको कारण र जिम्मेवारीको समीक्षा गर्न आवश्यक छ। वर्तमान संकटको सामना गर्न नेतृत्व रूपान्तरण आवश्यक छ ।’

उनले समय, जनता र पार्टी कार्यकर्ताले नेतृत्व हस्तान्तरणको माग गरिरहेको पनि बताए । अहिलेको अवस्थामा कुनै एक व्यक्ति शक्तिशाली नभएर सामूहिक नेतृत्व आवश्यक रहेको उनले स्पष्ट पारे । ‘सामूहिक नेतृत्वमा निर्णयलाई अपनत्व महसुस गरेर कार्यान्वयन गर्न सकिन्छ, यसरी मात्रै पार्टी र देश अघि बढ्छ,‘उनले भने ।

गोकर्ण विष्टले पार्टीभित्र युवा पुस्तालाई नेतृत्व लिनको अवसर दिनुपर्नेमा पनि जोड दिए ।  उनले ४० वर्ष मुनिका युवालाई पार्टीको केन्द्रीय समितिमा ल्याउने पहल गर्ने बताए । वर्तमान नेतृत्वमा भएको जामले युवाहरूको आकर्षण घटाएको भए पनि ११औँ महाधिवेशनले युवाहरूलाई पार्टीमा संलग्न गराउने नीति तय गर्ने उनको भनाइ थियो।

उनले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा, संकटको सामना र नेतृत्व हस्तान्तरणका माध्यमबाट एमालेलाई अग्रणी पार्टीको रूपमा स्थापित गर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?