काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ निर्माणका लागि भइरहेको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।
जेनजी आन्दोलनपछि ओलीको भक्तपुरको बालकोटस्थित निजी निवास क्षति भएपछि भक्तपुरकै गुण्डुमा ओलीका लागि ‘ओली कुटी’ निर्माण गर्न लागिएको छ ।
बस्नेतकै पहलमा नयाँ घर निर्माण गर्न लागिएको तर त्यसलाई कुटी नामाकरण गरेर भव्य बंगाला बनाउन लागिएको भन्दै आलोचना भइरहेको छ । त्यसप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेका बस्नेतले टाउको नदुखाउन भनेका हुन् ।
‘केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो । उहाँ त्यसको अध्यक्ष हो । केपी ओलीका लागि २–३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङ्ग’ हो भने—ब्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस्, अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुनेछ । यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ,’ उनले भनेका छन् ।
कुटी वा आश्रम जे भने पनि त्यो नामाकरण मात्रै भएको त्यसलाई व्यंग्य गर्न नहुने टिप्पणी गरे ।
‘कुटी भन्नुस वा ‘आश्रम’-यी त नामाङकण मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर के पी ओली “बार्दली गए” भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरी “राजनीतिबाट कुटी पुगे” भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ । राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्छन्,’ उनले भनेका छन् ।
ओलीका लागि निर्माण हुने कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले बिहीबार नै गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया