महाधिवेशनका लागि अघि बढ्यो कांग्रेस : यस्तो तहगत अधिवेशनको तालिका

लोकपथ
644
Shares

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आगामी १५औँ महाधिवेशनबारे सहमति जुटेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको हो ।

आजको बैठकले केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार द्रुत गतिमा क्रियाशील टुंगो लगाउनेदेखि विभिन्न तहको अधिवेशनको काम हुनेछ । जसअनुसार आगामी मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाट वितरण गरिसक्ने निर्णय भएको छ । त्यस्तै जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म आगामी मंसिर २४ गतेभित्रै नयाँ क्रियाशील सदस्यता फारम पठाउने निर्णय समेत भएको बताए ।
त्यसैगरी विभिन्न तहको क्रियाशीलताको काम आगामी पुस ८ गतेसम्म सम्पन्न गरी आगामी पुस १६ गतेसम्म गाउँ, नगर र वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको प्रवक्ता महतले बताए । त्यसको साथै विभिन्न चरणका अधिवेशन सम्पन्न गर्दै आगामी पुसको २३ र २४ गते सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

यस्तो छ तहगत अधिवेशनको कार्यतालिका :

मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाट वितरण गरिसक्ने
जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यता फारम पठाउने अवधि मंसिर २४ गते
पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यताको काम सम्पन्न गरिसक्ने
क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरणसम्बन्धि परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ सूची तयार गरी केन्द्रीय सभापति तथा कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते
नयाँ क्रियाशील वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, अन्य पार्टीहरुबाट आएकाहरुलाई समेत क्रियाशील सदस्यता दिने निर्णय
विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने भएकाले पुस १५ गते भित्र जनसम्पर्क समितिको अधिवेशन गरिसक्नुपर्ने

केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न तहमा अधिवेशनको कार्यतालिका यसप्रकार रहेको छ :

गाउँ, नगर र वडा अधिवेशन– पुस १६ गते
गाउँ, नगरपालिका अधिवेशन– पुस १७ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन– पु १९ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एकमात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २१ गते
एक भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन– पुस २२ गते
सात वटा प्रदेशको प्रदेश अधिवेशन– पुस २३ र २४ गते
केन्द्रीय महाधिवेशन– पुस २६, २७ र २८ गते

त्यसो त नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनका लागि लामो रस्साकस्सी चलेको थियो । गत असोज २८ गतेबाट बसेको केन्द्रीय समिति बैठकले कुनै पनि निर्णय गर्न नसक्दा कांग्रेसभित्रको आन्तरिक किचलो बढेको थियो । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरुले लामो छलफलपछि केन्द्रीय महाधिवेशनको सर्वसम्मत निर्णय गराएका हुन् ।

सम्पूर्ण निर्णय यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?