बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरिँदै

लोकपथ
63
Shares

बैतडी  ।  बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।

कूल ५३ जना कैदी र छजना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए । 

दार्चुला कारागारमा छ थुनुवा र तीन जना कैदी, बझाङ नौ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताए । कूल २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।

‘सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबिच सम्झौता भैसकेको छ,‘ उनले भने, ‘कार्यादेशसमेत आइसकेको छ । अबको एक र दुई दिनभित्र काम सुरु हुन्छ ।’

बन्दीगृह निर्माणका लागि  १० करोड बजेट विनियोजन गरिएको छ । केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम गर्नेछ । सो कम्पनीसँग  सात करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ । 

विसं २०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?