प्रधानमन्त्रीसँग एमालेले भन्यो– ‘शान्ति सुरक्षाको प्रत्याभूती होस्, निर्वाचनबाट भाग्दैनौँ’

लोकपथ
511
Shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा पुगेर भेटेका नेताहरुले सो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको आग्रहमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला बालुवाटार पुगेका थिए ।

बालुवाटार बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बर्तौलाले अहिलेको अवस्थामा आफूहरु भयरहित वातावरणका साथ निर्वाचनमा जान सक्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताए । साथै नेता र राजनीतिक दलहरु मात्र नभएर आम मतदाताहरु समेत भयरहित वातावरणमा मतदानमा सहभागि हुने अवस्था सिर्जना गर्न आग्रह गरे ।

‘निर्वाचन गराउने कुरामा नेकपा एमालेको संस्थागत साथ रहोस् भन्ने कुरा भन्नुभयो । हामीले मुख्यगरी ३ वटा कुरा उहाँसमक्ष राख्यौँ । पहिलो कुरा वर्तमान सरकार गठनका विषयमा केही संवैधानिक प्रश्नहरु छन्, त्यो टुंगिने क्रममा रहेको छ । त्यो टुंगिन जरुरी छ । साथसाथै त्यसैगरी जोडिएर निर्वाचनको कुरा आउँछ । निर्वाचनको निष्पक्षता र निर्भयताको कुरामा सरकारको अहिलेसम्म जे तयारी र विश्वसनीयता छ त्यसमा हामी विश्वस्त हुनसक्ने आधार छैन भन्ने कुरा हामीले प्रष्टसँग भन्यौँ । र निर्वाचनमा राजनीतिक दलमात्र होइन मतदाताहरु समेत भयरहित वातावरणबाट आफ्नो निष्पक्ष मतदान गर्ने कुरामा ढुक्क हुनसक्ने वातावरण होस् भन्ने कुरामा हामीले अवगत गरायौँ,’ उनले भने ।

त्यस्तै निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई अवकाशमा गएकै दिन स्थान हद तोक्ने कुराले देशभरका प्रहरीहरुको मनोबल गिरेको र प्रहरीको गिरेको मनोबल उठाउन सरकार लाग्नुपर्ने बताए ।

साथै आफूहरु लोकतन्त्रमा विश्वास गर्ने र लोकतान्त्रिक पार्टी भएका कारण सरकारले घोषणा गरेको निर्वाचनमा नजाने भन्ने प्रश्न नआउने बताए । साथै सरकारले राजनीतिक दलहरुलाई आफ्नो प्रचारप्रसार गर्ने वातावरण बनाउन समेत आग्रह गरिएको बताए ।

साथै आफूहरुले सरकार गठनको विषयमा समेत संवैधानिक प्रश्न रहेका कारण त्यसलाई निरुपण गर्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएको र त्यसको आदेश आएपछि त्यसलाई स्वीकार गरेर अघि बढ्ने समेत बताए ।

त्यसो त एमालेले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै सरकारप्रति कटाक्ष गरिरहेको छ । एमाले निर्वाचनबाट भाग्ने खोजेको आरोप आइरहेका बेला प्रधानमन्त्री कार्कीले नेताहरुलाई बालुवाटार बोलाएर भेट गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?