काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी पुस २८ गतेसम्म विशेष महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट आज विज्ञप्ति जारी गर्दै करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरको अबमूल्यन हुन नहुने अडान अघि सारिएको हो ।
आफूहरुले विधानको व्यवस्था अनुसार नै विशेष महाधिवेशनको माग अघि सारेको भन्दै त्यसलाई नेतृत्वले नजरअन्दाज गर्न नमिल्ने टिप्पणी विशेष महाविधेशन पक्षधरको रहेको छ ।
‘हामी नेतृत्वसँग गम्भीर प्रश्न राख्छौँ– विधान केन्द्रीय कार्यसमितिका लागि पनिसमान रुपमा लागू हुन्छ कि हुँदैन ? देश लोकतन्त्र र पार्टीको हित सर्वोपरी हो कि व्यक्तिगत स्वार्थ र आकांक्षा ? सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा–पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रुपमा सम्पन्न हुनैपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताको अवस्थाको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत विशेष महाधिवेशन पक्षधरको अडान रहेको छ ।
‘नेपाली कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताले पार्टी आज गम्भीर संकटको मोडमा उभिएको छ । यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै आफूहरुले केवल महाधिवेशनको कार्यतालिका मात्रै माग नगरेको बताउँदै सो समूहले नियमित महाविधेशनको बाटोमा पार्टी गएमा मात्रै विशेष महाधिवेशनमो औचित्य सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया