काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले स्थानीय सरकारबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
‘गाउँगाउँमा सिंहदरबार’ को नारा दिइने गरिएको स्थानीय सरकार जनताको नजिकको सरकार पनि हो ।
गलोपाले स्थानीय सरकारबारे आफ्नो धारणा सार्वजनिक गर्दै हरेक नेपालीको जीवनस्तर उठाउने काम स्थानीय पालिका र वडा तहकै रहेको बताएको छ ।
रोजगारी, शिक्षा, खेलकुद, उद्यमशीलता, स्वास्थ्य, शान्ति सुरक्षा, खानेपानी बिजुलीको व्यवस्थापनदेखि न्यायीक कार्यसम्बन्धी काम समेत स्थानीय तहको रहेको भन्दै आफूहरुले स्थानीय सरकारको नेतृत्व गर्नुपर्दा सोही अनुसार जनताको सुविधालाई मध्यनजर गर्र्दैै अघि बढ्ने जनाएको हो ।
गलोपाले स्थानीय तहले रोजगारीको सिर्जना गर्ने कुरामा जोड दिनका लागि आफ्नो स्थानीय तहमा रहेका दक्ष तथा अदक्ष रोजगारी पहिचान गरी स्थानीय पालिकामा अभिलेख गर्न जरुरी रहेको जनाएको छ । त्यस्तै नियमित अन्तरालमा रोजागारीका लागि हरेक व्यक्तिको स्थायी ठेगानासहित वडामा रजिस्ट्रेसन हुनुपर्ने जनाएको छ ।
‘दक्ष तथा अदक्ष रोजगारी पहिचान गरि स्थानीय पालिकामा अभिलेख हुन जरुरी छ । यसका लागि नियमित अन्तरालमा रोजगारका लागि हरेक व्यक्तिको स्थायी ठेगानासहित वडामा रजिष्ट्रेशन हुनुपर्छ । यो कार्यलाई कम्प्युटरको माध्यमबाट इन्ट्री गर्नुपर्छ । साथसाथै पालिकाले स्थानिय अवस्थामा रोजगारको केकस्तो अवस्था छ, त्यस्को पनि नियमित मूल्यांकन गरिराख्नुपर्छ,’ गलोपाले सार्वजनिक गरेको धारणामा भनेको छ ।
गलोपाले सामान्य रोजगारीका लागि युवाहरु विदेश पलायन हुनुपर्ने अवस्था रहेको जनाउँदै स्थानीय हतले नै त्यसको प्रबन्ध गर्न माग गरे । साथै आफूहरु स्थानीय तहको सरकारको नेतृत्व गर्ने अवस्था आएमा रोजागरीको अवसर सिर्जना गर्ने बताए ।
‘स्वदेशमा रोजगारका अवसरहरु सिर्जना गर्नका लागि स्थानीय तहमा उद्योगहरुको स्थापना र सञ्चालनमा जोड दिईनेछ । साथै यसका लागि लगानीमैत्री तथा सरल र सुलभ दरमा स्थानिय वाणिज्य बैंकबाट ऋण प्रदान गर्ने नीति बनाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै नेपालीहरुमा खेलकुद, योग र व्यायम जस्ता शारिरीक स्फूर्तताको माध्यमहरुलाई बढवा दिन स्थानीय सरकार लाग्नुपर्ने गलोपाको धारणा रहेको छ ।
‘खेलकुद, व्यायाम, योगले स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निभाएको छ । यसले रोगलाई थोरै भएपनि पर पर धकेलेको छ । खेलकुदले अनुशासनका साथै जीवनलाई अनुशासित बनाउन पनि मद्दत गर्छ । अतः पढाईसँगै खेलकुदलाई अगाडी लानुपर्ने देखिन्छ,’ गलोपाले भनेको छ ।
त्यसो त उद्यमशील व्यक्तिहरुको संलग्नताबाट बनेको पार्टी गलोपाले आगामी दिनमा उद्यमशीलताको विकासलाई जोड दिएको छ । त्यति मात्र होइन हरेक पालिकाले आफ्नो स्थानीय तहमा भएको कृषियोग्य जमिनको उपयोग गरी अधिकतम उत्पादनमा जोड दिनुपर्नेमा जोड दिएको छ ।
‘वडा अध्यक्षको पहलमा वडा अनि पालिकाको सम्पूर्ण कृषि योग्य जमिनमा एकै प्रकारको फसल न्यूनतम समर्थन मूल्य तोकी अधिकतम उत्पादन गराउनु पर्दछ । तर फसलको न्यूनतम समर्थन मूल्य तोक्न प्रारम्भिक उद्योग स्थापना नगरी सम्भव छैन,’ गलोपाले भनेको छ, ‘त्यसैकारण यस प्रकारको फसलको प्रारम्भिक उद्योग स्थापना हुने गरी उत्पादन हुनुपर्दछ । जस्तै शित भण्डारण स्थापना गर्न आवश्यकता अनुसारको स्याउ वा आलु उत्पादन हुनुपर्दछ वा चामल, तेल, दाना मिल स्थापना हुन आवश्यकता अनुसार धान, तोरी, मकै उत्पादन हुनुपर्दछ ।’
खासगरी उद्ययमशीलताको विकास नभइ मुलुक विकास हुन सक्दैन भन्ने मान्यता राख्ने गलोपाले आगामी दिनमा मुलुकलाई समृद्ध बनाउन आफ्नो स्रोत र साधनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।
पूर्णपाठ हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया