कांग्रेस विशेष महाधिवेशन पक्षधरको आज काठमाडौंमा भेला

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेसँगै विशेष महाधिवेशन पक्षधर समूहले आज काठमाडौंमा विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकमा दबाब सिर्जना गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको हो ।

कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति टुंग्याउनुपर्ने माग पक्षधर समूहको छ ।

राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि सुरु हुने भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना नेतादेखि नयाँ पुस्तासम्मका व्यक्तिहरूले सम्बोधन गर्ने तयारी छ ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरेले भेला ‘सशक्त र प्रभावकारी’ हुने बताए । त्यस्तै, काठमाडौं बाहिरबाट समेत हस्ताक्षरकर्ता स्वस्फूर्त रूपमा सहभागी भइरहेका नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले पुराना पुस्तादेखि जेन–जेडसम्म विशेष महाधिवेशनको पक्षमा उभिएको दाबी गरे ।

विशेष महाधिवेशन बोलाउन कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षरसहित लिखित माग पेस गरिसकेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित प्रस्ताव बुझाइएको थियो ।

कांग्रेस विधान अनुसार प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?