पुरानो पार्टीगत सोचबाट मुक्त भएर अघि बढ्नुपर्छ : माधव नेपाल

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले कार्यकर्तालाई पुराना पार्टीगत सोच र मानसिकताबाट मुक्त हुन आग्रह गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटक मिलेर बनेको नयाँ पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सबैलाई आह्वान गरे ।

‘अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनुपर्छ, ‘नेपालले भने, ‘पेरिसडाँडा मेरो, आलोकनगर तपाईँहरूको भन्ने मानसिकता त्यागेर साझा संगठन निर्माणमा लाग्नुपर्छ ।’ उनले संगठन-संगठन छुट्ट्याउने प्रवृत्ति त्यागेर सबै जनसंगठनलाई एउटै संरचनामा समाहित गर्नुपर्नेमा जोड दिए ।

पूर्वमाओवादी पृष्ठभूमिका कार्यकर्तालाई इतिहासको चर्चा गर्दा २०५२ साल मात्र होइन, २००६ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलन र २०२८ सालको झापा विद्रोहसम्मका सबै चरण समेट्नुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा उनले नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्ने चलनप्रति कटाक्ष गर्दै एउटा नेतामाथि मात्र केन्द्रित हुने ‘बा प्रवृत्ति’ले पार्टीभित्र विकृति निम्त्याउने चेतावनी पनि दिए ।

‘हामीलाई ‘बा प्रवृत्ति’ बाट मुक्त हुनुपर्छ,‘उनले भने, ‘अनेकौँ नेताको योगदान स्मरण नगर्ने हो भने फेरि त्यही प्रवृत्ति पुनः दोहोरिन्छ ।’

एक अर्काप्रतिको विश्वास र सहकार्यले मात्र पार्टीलाई जनताको आशा–भरोसाको केन्द्रमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?