महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री कार्की

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सेवा क्षेत्रमा महिलाको सहभागिता बढाउन नियुक्ति र बढुवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिलालाई राज्य संयन्त्रमा अघि बढाउने विषयलाई आफूले निरन्तर प्राथमिकतामा राखेको बताइन् ।

उनले हरेक नियुक्ति तथा बढुवामा ‘महिला कहाँ छन् ?’ भनेर अनिवार्य रूपमा खोज्ने गरेको उल्लेख गर्दै, महिलालाई प्रश्रय नदिए प्रश्न उठ्ने भएकाले समुचित अवसर दिनु आवश्यक रहेको धारणा राखिन् ।

प्रधानमन्त्रीले महिलाको क्षमता र उपयुक्तता भएको ठाउँमा उनीहरूलाई नेतृत्व र जिम्मेवारी दिन आफू तत्पर रहेको बताउँदै भनिन्, ‘जहाँ महिलाको उपदेयता छ, त्यहाँ अवश्य प्राथमिकता दिन्छौँ। महिलालाई प्रोत्साहन नगरी हिंसाको जरा उखेलिँदैन ।’

देशमा गरिबी, बेरोजगारी र विदेशिनु पर्ने बाध्यताले महिलामाथि हुने हिंसा बढिरहेको उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारको अन्त्यले मात्र महिलाको अवस्था सुधारिने बताइन् ।

समाजमा छोराछोरीबिच गरिने भेदभाव, आर्थिक अभाव, शिक्षा अभाव र चेतनाको कमी लैङ्गिक हिंसाका कारणहरू रहेको बताउँदै प्रधानमन्त्री कार्कीले गरिबी निवारण, रोजगारी सिर्जना र समाजलाई सचेत बनाउने अभियानलाई निरन्तर अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले पुरुषहरूको मर्यादा र योग्यतालाई सम्मान गर्दै प्रतिस्पर्धामा पहिलो स्थान ल्याउनेलाई प्राथमिकता दिइने तर महिलाको क्षमता र ठाउँ भेटिएसँगै उनीहरूलाई अवसर दिलाइने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार अहिलेका जेनजी आन्दोलनले पनि रोजगारी, सुशासन र भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेको छ, र यी समस्याको समाधानले महिलामाथि हुने हिंसा कमी हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रधानमन्त्रीले महिलामाथि हिंसा अन्त्य गर्न राज्य, समाज र परिवार सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?