मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन् ।  बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।  

उनले आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए । नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उनको भनाइ छ ।

आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।  

उनले भने,  ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ । प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभूति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’ अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?