काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्नेसम्बन्धमा सरकार विशेष रूपमा सतर्क रहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संकट न्यूनीकरणका लागि सबै तहका सरकार तथा सरोकारवालाबीच सहकार्य अत्यावश्यक रहेको उल्लेख गरे ।
उनका अनुसार संघ, प्रदेश र स्थानीय तहका निकायसँगै सुरक्षा संस्था, दातृ निकाय तथा नागरिक समाज सबैको सक्रिय सहभागिताबिना शीतलहर–हिमपातजस्ता जोखिम रोकथाम सम्भव छैन ।
उनले जोखिमग्रस्त समुदायमा केन्द्रित पूर्व तयारी र प्रतिकार्य तत्काल प्रभावकारी ढङ्गले लागू गर्न जिम्मेवार निकायलाई निर्देशनसमेत दिए ।
गृहमन्त्री अर्यालले भने, ‘कटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी तथा प्रतिकार्य गर्न सबै निकायलाई निर्देश गर्दछु । शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस् ।’
हिमपातका कारण विकास निर्माण कार्य प्रभावित हुने अवस्था देखिन नदिन सरकार गम्भीर रहेको मन्त्री अर्यालले स्पष्ट पारे ।
उनले समन्वय, प्रतिबद्धता र समर्पणमार्फत मात्र विपद् जोखिम न्यूनीकरण प्रभावकारी बन्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया