तत्काल कर प्रणालीमा सुधार गर्न आवश्यक : अध्यक्ष पाण्डे

लोकपथ
35
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेकाले कर प्रणालीमा तत्काल सुधार अपरिहार्य रहेको बताएका छन् । 

परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधार : सार्वजनिक–निजी संवाद’ कार्यक्रममा बोल्दै उनले कर नीतिको स्थायित्व बिना लगानी अभिवृद्धि हुन नसक्ने स्पष्ट पारे ।

अध्यक्ष पाण्डेले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि बजारमा माग कमजोर रहेकाले उद्योगहरू न्युन क्षमतामा सञ्चालनमा रहेको बताए । ‘ब्याजदर एकल अंकमा छ, मुद्रास्फीति न्युन बिन्दुमा छ, तर माग नबढ्दा पैसा बैंकमा निष्क्रिय बसिरहेको छ, जुन अर्थतन्त्रका लागि राम्रो संकेत होइन, ‘उनले भने ।

पैसा निष्क्रिय बसेको अवस्थाले सरकारको राजस्व संकलनमा समेत प्रतिकूल असर परेको उल्लेख गर्दै पाण्डेले लगानी बढाउन कर नीतिले निर्णायक भूमिका खेल्ने बताए । उनका अनुसार स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताले पनि कर नीतिको स्थायित्वलाई आधार मानेर लगानी गर्ने हुँदा नीतिगत स्थिरता अपरिहार्य छ ।

उनले आर्थिक सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि कर सुधारलाई प्राथमिकता दिएको बताउँदै आयोगका सुझावहरू कार्यान्वयनका लागि बनेको कार्ययोजना–२०८२ ले समेत कर प्रणाली परिमार्जनमा जोड दिएको जानकारी दिए ।

‘लगानी विस्तार र औद्योगिक वातावरण निर्माणको लागि नीतिगत स्थायित्व अत्यावश्यक छ । त्यसैले चाँडोभन्दा चाँडो कर प्रणालीमा सुधार गर्न सरकारलाई आग्रह गर्दछु, ‘पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?