डा. सुजन कडरियालाई हटाउँदै महासचिव दीपक धामी बने अखिलको अध्यक्ष 

लोकपथ
742
Shares

काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियाले दिएको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । 

नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरू पदाधिकारी यथावत् राख्ने निर्णय गरेको छ । 

नवनियुक्त अध्यक्ष धामीले भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौँ । अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेस हुनेछ ।’

कडरियाले भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।  

त्यसबेला कडरियाले लेखेका थिए, ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथप्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कुले पोसाकमा रहेका विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन् । तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।”

राजीनामासँगै उनले अब पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए । साथै, अहिले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दमन गर्न खोजेको स्पष्ट देखिएको र यसको नतिजा भयावह हुने चेतावनी दिएका थिए । 

तर यही कात्तिक २४ गते उनी केन्द्रीय कार्यालय फर्किएका थिए । एमालेले ‘घर फर्क अभियान’ चलाएको भन्दै कडरियासहित राजीनामा दिएर निष्क्रिय रहेका अनेरास्ववियुका नेताहरू नियमित काममा फर्किएका थिए ।

अध्यक्ष कडरियाले सामाजिक सञ्जाल मार्फत राजीनामा दिएर बसेका सबैलाई संगठनको काममा फर्कन आग्रह गरेका थिए । ‘नेकपा एमाले र अखिलबाट बाहिर रहनु हुने सम्पूर्ण कमरेडहरूलाई पार्टीको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्छु,’ कडरियाले लेखेका थिए । उनको स्वागतमा अनेरास्ववियुका पदाधिकारीहरूसहितले जुलुस नै निकालेका थिए । ‘हाम्रो कार्यालयमा पनि तोडफोड भएको थियो । त्यसलाई हटाएर सञ्चालनमा ल्याएका छौँ,’ उनले भनेका थिए ।

उता, अर्को धारले संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएको थियो । अनेरास्ववियुका नेता–कार्यकर्ताले उनको फोटोसमेत तोडफोड गरेका थिए ।

सचिव आकाश घर्तीका अनुसार त्यसबेला ४२ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका थिए । जेनजी आन्दोलनमा विद्यार्थीहरूमाथि राज्यबाट चरम दमन भएपछि अनेरास्ववियुमा राजीनामा दिनेको लहर नै थियो ।

गत जेठ अन्तिम साता भएको अनरोस्ववियुको महाधिवेशनले डा. कडरियालाई अध्यक्षमा निर्वाचित गरेको थियो । कडरिया निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । कडरिया ७ सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७ सय २५ मत पाएका थिए । कडरिया यसअघि केन्द्रीय कमिटीको सचिव थिए ।

३२ वर्षे उमेर हद लागू भएपछि यसअघि उनीभन्दा माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरिया अध्यक्षमा विजयी बनेका थिए । त्यसबेला निर्वाचनबाट उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामी, उपमहासचिवमा कमल जोशी, सचिवमा आकाश घर्तीमगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?