निर्वाचनका लागि १५० दल पुग्ने सम्भावना, ७ दलको दर्ता खारेज

लोकपथ
490
Shares

काठमाडौं । हालसम्म निर्वाचन आयोगमा १२२ वटा दल दर्ता भएका छन् ।

अन्तरिम सरकारले निर्वाचनको घोषणा गरेको समयमा पनि १२२ वटा दलहरु नै कायम रहेको र अहिले पनि त्यही संख्यामा दलहरु रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यो बिचमा विभिन्न ७ राजनीतिक दलको दर्ता खारेजी भएको समेत बताए । उनका अनुसार हाल २८ वटा राजनीतिक दल दर्ताको प्रक्रियामा रहेको छ ।

यसरी हेर्दा आगामी निर्वाचनमा १५० हाराहारीमा दल दर्ता हुने र भाग लिने सम्भावना रहेको छ ।

‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए । यो बीचमा आजका दिनमा पनि दर्ता भएका राजनीतिक दलको संख्या १२२ वटा नै छ । यो बीचमा ७ वटा राजनीतिक दल खारेज भए । र यति नै थपिए,’ आइतबार भट्टराईले पत्रकार सम्मेलन गर्दै भने, ‘अहिले २८ वटा दल दर्ताका लागि पाइपलाइनमा छ । उहाँहरू दल दर्ताको प्रक्रियामा हुनुहुन्छ ।’

आयोगले दर्ता प्रक्रियामा रहेका दलहरुलाई कानुन बमोजिम बोलाएर कागजातसहित सनाखत गराउने काम गरिरहेको छ ।

प्रवक्ता भट्टराईले भने, ‘खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ ।’

त्यसो त निर्वाचन आयोगले कार्तिक ३० गते आइतबार अर्थात् आजसम्मका लागि मात्रै दल दर्ताको मिति तोकेको थियो । तर अन्य सनाखत हुन बाँकी रहेका दलहरुको प्रक्रिया भने चलिरहन्छ ।

यता आयोगले फागुन २१ को मितिमा घोषणा भएको निर्वाचनलाई लक्षित गरेर गरेको मतदाता नामावली संकलनको काम आगामी मंसिर ५ गतेसम्मका लागि थपेको छ । आजसम्मका लागि मतदाता नामावलीमा नाम दर्ताको समय तोकिएकोमा मतदाताहरुको उत्साह देखिएपछि नामावली संकलनको समयावधि थप गरिएको हो ।

‘सुरुका दिनमा सन्तोषजनक मात्रै र अन्तिम अवस्थामा उत्साहजनक रुपमा सहभागिता भयो । उहाँहरु कोही पनि नछुट्नुहोस् भन्ने मनसायका साथ आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने काम मंसिर ५ गतेसम्मका लागि थप गरेको छ,’ उनले भने ।
उनका अनुसार आफैँ आवेदन दिनेको संख्या २ लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेको संख्या २ लाख पुगेको छ ।

‘आफैँ उपस्थित भएर आवेदन दिने मतदाताहरुको संख्या २ लाख ८५ हजार छ, भने राष्ट्रिय परिचयपत्रबाट आवेदन गर्नेहरुको संख्या २ लाख रहेको छ,’ उनले भने ।

खासगरी जेनजी आन्दोलनपछि भने आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?