काठमाडौं । जेनजी आन्दोलनमा घाइतेपछि सिंगापुरमा उपचारबाट फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीति सक्रियता बढाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा शुक्रबार राति उपचारपछि फर्किएका हुन् । पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा सिंगापुरमा रहँदा नेपालमा भने कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको थियो ।
बैठकमा सबै नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम सकिए पनि आगामी महाधिवेशनको विषयमा निर्णय हुन सकिरहेको छैन । एक महिना भन्दा बढी समयदेखि बैठक चलिरहे पनि निष्कर्ष निस्कन नसक्दा देउवाले थप सक्रियता बढाएका हुन् ।
शनिबार देउवाले आफू निकटका नेताहरुलाई बोलाएर भेटेका छन् । देउवाले प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की लगायतलाई भेटेका हुन् ।
भेटघाटका क्रममा देउवाले पार्टीभित्रको विवादसहित आगामी निर्वाचनबारे समेत चासो राखेका थिए । साथै देउवाले पार्टी महाधिवेशन चुनाव भन्दा पछि गर्न उपयुक्त हुने आशय व्यक्त गरेको भेटमा सहभागि नेताहरुको दाबी छ ।
खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि नै नियमित महाविधेशन नभए विशेष महाधिवेशनका लागि दबाब दिँदै आइरहेका छन् । तर संस्थापन पक्षले भने निर्वाचनपछि मात्रै महाधिवेशन सम्भव रहेको अडान राख्दै जाँदा कैन्द्रीय समिति बैठक अनिर्णीत बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया