कर्णालीमा गतिशील लोकतान्त्रिक पार्टी : सुन्यो पीडा, सुनायो आफ्नो एजेण्डा

लोकपथ
1.3k
Shares

काठमाडौं । ‘कर्णाली प्रदेश देशकै सबैभन्दा कम पैसा कमाउने नागरिक बस्ने ठाउँ तर त्यसै ठाउँमा सबैभन्दा बढी यातायात खर्च किन ?,’ कर्णालीका युवा पवन थापामगरले कर्णालीका नागरिकहरुले भोगिरहेको समस्याबारे प्रश्न तेर्स्याए ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गतिशील लोकतान्त्रिक पार्टीले गरेको कार्यक्रममा उनले उठाएको सवाल हो यो । हाल उनी पनि सोही पार्टीसँग आवद्ध छन् । उनलाई पार्टीले संस्थापक केन्द्रीय सदस्य बनाएको छ ।

फरक एजेण्डासहित राजनीतिमा ‘डेब्यू’ गरेको गतिशील लोकतान्त्रिक पार्टीले कर्णालीको सम्भावनालाई सफलतामा रुपान्तरण गर्ने संकल्प गरेर अघि बढेको जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टीका एजेण्डाबारे प्रष्ट पारे । हवाई क्षेत्र मात्र नभएर कृषि क्षेत्रका समेत सफल व्यवसायी रहेका बस्नेतले कर्णालीको सम्भावनालाई सफलतामा रुपान्तरण गर्ने बताए । साथै पवनको कुरा आफूले मनन गरेको बताउँदै सोही कारण आफू कर्णाली ओर्लिएको सुनाए । त्यहाँ उनले सडक यातायातको विषय मात्र नभएर हवाई यातायात समेत सुधार गर्नुपर्ने मात्र नभएर त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने खाका सुनाए ।

‘बाहिरबाट आएका पर्यटकहरुलाई हामीले सुर्खेत र कर्णाली घुमाउने बन्दोबस्तीसहितको योजना अघि सारेका छौँ । कर्णालीमा यातायातको असुविधा मात्रै होइन अव्यवस्थित पनि रहेको छ । त्यसलाई कसरी ठिक पार्ने र एयर कनेक्टिभीटिका लागि भैरहवाबाट सुर्खेत उडान सञ्चालन गरेर पर्यटकहरु ल्याउनेदेखि यावत योजना हामीसँग छ,’ बस्नेतले भने ।

बेरोजगारीबाट पिल्सिएको कर्णाली प्रदेशको अर्को मुख्य समस्या भनेको सस्तो श्रम हो । देशमा रोजगारी नपाएका कारण छिमेकी देश भारतका विभिन्न शहरदेखि धार्मिकस्थलसम्म ढोको बोक्ने काममा समेत कर्णालीका युवाहरुको श्रम प्रयोग भइरहेको सुनाए ।

‘यो प्रदेशको युवाहरु डोको बोक्नका लागि केदारनाथ बद्रीनाथ जानुपरिरहेको छ । हाम्रो माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर नै छैन । त्यसलाई हामीले कसरी समाधान गर्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘राज्यले त्यसलाई देखेको छ ? बुझेको छ ? तर हामीले महसुस गरेरै यी एजेण्डाहरु अघि सार्न मात्र होइन समाधान र युवाहरुलाई दीगो रोजगारीको खाका लिएर यहाँ आएका हौँ ।’

बस्नेतले आफू हवाई क्षेत्रमा लामो समय काम गरिरहेको व्यक्ति भएको हिसावले अन्तरप्रदेश र अन्तरदेशीय हवाई मार्गसँग नेपाललाई कसरी जोड्न सकिन्छ भन्ने सम्भावनाहरुको खोजी गरिरहेको बताए । साथै पहिले विश्वबाट नेपाल पर्यटक भित्र्याउने र आएका पर्यटकहरुलाई देशैभरीका गन्तव्यहरुमा सहज रुपमा कसरी पुर्‍याउने भन्ने खाका लिएको र पार्टीले त्यसलाई पूरा गर्ने योजना बनाएको बताए ।

‘हामीले सरकार बनाएको २ महिनाभित्र दुर्गम कनेक्टिभिटीका लागि २ वटा ट्वीनअटर र २ वटा हेलिकप्टर यहाँ स्थापित गर्छौँ, र त्यसले दुर्गममा उडाउँछ । यदी सरकार नबनाएको खण्डमा त्यसले कसरी काम गर्छ भन्ने पनि प्रश्न उठाउन सक्छ । २ वटा टीनअटर जहाज कर्णाली प्रदेशका नागरिकहरुले लगानी गर्न पाउनुपर्छ, व्यवसायी र संस्थाहरुले लगानी गर्न सक्छ । त्यो चाँही ऋण नलिइकन किन्ने, त्यसको स्वामित्व कर्णालीबासीको हुन्छ । भाडादर कर्णालीका बासिन्दालाई परल मूल्यमा उड्न पाउँछन् । अन्य पर्यटकहरु घुम्न आएका हुन्छन्, उनीहरुलाई धेरै मूल्य हुन्छ र विदेशीले सोही अनुसार तिर्नुपर्छ । यो एयरलाइन्स पहिलो दिनदेखि नै नाफामा जान्छ । कर्णाली प्रदेशमा चाहिनेजति टीनअटर जहाज खरिद गर्न सक्छौँ,’ उनले बुद्ध एयरको विकासक्रमबारे जानकारी दिँदै भने ।

यस्ता गन्तव्यहरुका लागि सुरुमा सस्तो जहाजहरुश्र खरिद गर्न सकिने बताए । हाल नेपालमा २० वर्ष भन्दा पूराना जहाज खरिद गर्न नपाउने व्यवस्था रहेको छ । तर सरकारले कानुन परिवर्तन मात्रै गरिदिने हो भने हवाई कम्पनीहरुले थप जहाज थप गर्न सक्ने अवस्था सिर्जना हुने उनले बताए । विश्वका विभिन्न देशहरुमा ६० वर्षसम्म एउटै ट्वीनअटर जहाज चलिरहेको र त्यस्ता जहाज खरिद गर्न सकेमा सस्तो दरमा जहाज कम्पनीहरुले ल्याउन र दुर्गममा उडान सकिने बताए ।

‘२० वर्षभन्दा पूरानो टीनअटर जहाज किन्न पाउँदैन । त्यसलाई हटाउन सक्ने हामीसँग प्रशस्त प्रमाणहरु छन् । त्यसलाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई डेलिगेशन गरेर त्यो एउटा मात्रै नियमावली हटाउन लगाउँछौँ,’ उनले भने, ‘त्यसपछि हामी एउटा प्रपोजल राख्छौँ । ६० वर्ष उडिसकेको टीनअटर जहाजको आजको बजारको मूल्य झण्डै ४० करोड रहेको छ । त्यस्ता टवीनअटर प्रशस्त छन्, हामी धेरै भन्दा धेरै खरिद गर्न सक्छौँ । त्यसका लागि पाइलट कोपाइलटका लागि पनि सक्षम हुनुपर्‍यो कर्णालीबासी प्राथमिकतामा रहन्छन् ।’

पर्यटनमा मात्र नभएर कर्णालीमा कृषिको समेत त्यतिकै सम्भावना रहेको छ । तर राज्यले त्यसलाई ध्यान पुर्‍याउन नसक्दा श्याउ जस्ता फलफूलहरु त्यसै कुहिएर जानुपर्ने अवस्था सिर्जना भएको उनले सुनाए । साथै तीन ‘ज’हरु जंगल, जलस्रोत र जडिबुटीको प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने सुनाए ।

बस्नेतले जुम्लाको श्याउले दक्षिण एसियाकै माग धान्न सक्ने तर त्यसको उत्पादन, भण्डारण र बजारीकरण हुन नसकेको बताए ।

‘मैले अध्ययन गरे अनुसार जुम्लामा उत्पादन भएको श्याउले दक्षिण एशियाको मागलाई धान्न सक्छ । फेरि एकपटक उत्पादन भएको श्याउ एक वर्षसम्म खानुपर्छ, एक सिजनमा फलेको श्याउलाई वर्षैभरी कसरी खाने त, त्यसका लागि भण्डारणको राम्रो व्यवस्था हुनुपर्‍यो,’ उनले भने, ‘श्याउको भण्डारण गर्ने काम श्याउ उत्पादन हुने भूमीको आधारमा गर्नुपर्छ । त्यति मात्र होइन श्याउ भण्डारण केन्द्रमा श्याउ उत्पादन गर्ने किसानहरुको स्वामित्व हुनुपर्छ । हाम्रो एजेण्डा र हामी सरकारमा आएपछि त्यसको लगानी र ग्यारेन्टी राज्यले गर्नुपर्छ । किसानहरुले सहुलियतपूर्ण ऋण लिन्छन्, किसानहरुले लामो अवधिमा त्यसको सावा तिर्छन् तर ब्याज चाँही राज्यले तिर्नुपर्छ । त्यो हुँदा जुम्लाको श्याउ उत्पादन हुने जमिन छ त्यहाँबाट उत्पादन भएको श्याउको कारण त्यहाँका नागरिकहरुको जीवनस्तर उकास्छ । जितेको खण्डमा हामी अक्षरस् पालना र कार्यान्वयन गर्र्छौँ यदी हारेको खण्डमा हामी जसले जित्छ, त्यसले गर्नुपर्छ ।’

गतिशील लोकतान्त्रिक पार्टीले समतामुलक समृद्धिको नारालाई अघि सारेको छ । खासगरी ०४६ को राजनीतिक परिवर्तनपछि राम्रो व्यवस्था आए पनि आम नागरिकहरुको अवस्था सुधार हुन नसकेको बताए । तर त्यसका लागि आफूहरु राजनीतिलाई पेसा बनाउने नभइ पेशागत मान्छेहरु जोडिएर योगदान दिन आएको बताए ।

‘०४६ सालपछि राजनीति नै पेसागत राजनीति भयो । अब राजनीतिलाई सेवाको रुपमा व्याख्या गर्नुपर्‍यो । त्यो शिद्धान्तलाई स्थापित गर्नुपर्‍यो । तपाईँ व्यवसायी हुनुहुन्छ र राजनीतिमा आउनुहुन्छ भने तपाईँले आफ्नो पेसालाई थाती राख्नुहुन्छ, र त्याग गर्नुहुन्छ । यदी तपाई सेवाका लागि राजनीतिमा आउनुभयो भने तपाईँको घरको चुल्हो बल्नुपर्‍यो । त्यसका लागि हामी जस्ता व्यवसायी मान्छेहरु आयौँ भने हामीलाई राजनीतिबाट घर चलाउनुपर्ने बाध्यता हुँदैन, जसले गर्दा राजनीति थप सुदृढ हुन्छ,’ उनले सुनाए ।

त्यति मात्र होइन यदी राजनीतिमा सुधार र सोही अनुसार नागरिकको अवस्थामा सुधार नआउने हो भने आगामी १० वर्षमा पुनः अर्को जेन अल्फा पुस्ताले आन्दोलन गर्ने र त्यो थप भयावह हुने उनको चेतावनी रहेको छ ।

यता कर्णालीका युवा एवं गतिशील लोकतान्त्रिक पार्टीका नेता थापामगरले कर्णालीको सम्भावनाहरुलाई चिन्न नसक्दा पिछडिएको प्रदेशका नागरिक बन्नुपरेको गुनासो गरे ।

कर्णालीका लागि राज्यले स–साना कामहरु मात्रै गर्न सकेमा मात्रै पनि कर्णालीबासीको अवस्था सुधार आउन सक्ने बताए । विश्वकै पर्यटकहरुका लागि आकर्षणको केन्द्र रारा, तर त्यही रारा पुग्न पर्यटकहरुलाई सास्ती हुने कारण पनि पर्यटनको विकास हुन नसकेको उनको दाबी छ ।

‘हामी कर्णालीबासीहरु पिछडिएका छौँ भनेर प्रचार त हुन्छ तर वास्तवमा हामी पिछडिएका छैनौँ, किनकी हामीले हाम्रो सम्भावनाहरु चिन्न नसकेको मात्रै हो । नेपालीहरु मात्र होइन धेरै विदेशीहरु समेत रारा पुग्न खोज्छन् तर सबैभन्दा ठूलो समस्या त्यहीँ छ,’ उनले भने, ‘ देशका विभिन्न स्थानबाट रारा घुम्न आउने साथीहरुसँग भेट्छु, तर उहाँहरुको एउटै गुनासो यातायात हुन्छ । त्यसमा राज्यको भूमिका देखिएन । शिक्षा र स्वास्थ्य मात्र होइन सम्भावना भएको भएको क्षेत्र कर्णालीको यातायातको विषय पनि बहसमा आउनुपर्छ ।’

उनले आफू संलग्न रहेको गतिशील लोकतान्त्रिक पार्टी सरकारमा पुग्ला या नपुग्ला र सरकारमा नपुगे पनि बहसमा यातायातको विषयलाई ल्याउन सकिएमा सरकारलाई झक्झक्याउन थप बल पुग्ने बताए ।

यता पार्टीका संस्थापक अध्यक्ष दिनेश प्रसाईँले गतिशील लोकतान्त्रिक पार्टीले कर्णालीका मुद्दाहरु जोडतोडका साथ उठाउने बताए । उनले सम्भावनाका क्षेत्रहरुमा राज्यको नजर नपरेपछि त्यसलाई यथार्थमा रुपान्तरण गर्न आफूहरु राजनीतिमा आएको बताए । साथै आगामी दिनमा कर्णालीका मुद्दामा गतिशील लोकतान्त्रिक पार्टी खरो रुपमा उत्रिने बताए ।

गतिशील लोकतान्त्रिक पार्टीले देशका विभिन्न क्षेत्रमा पुगेर सम्बन्धित ठाउँको सम्भावनालाई उजागर गर्दै आफूहरु नीतिगत रुपमा काम गर्ने तहमा पुगेर त्यसलाई सम्भावनालाई यथार्थमा बदल्ने संकल्पका साथ काम गर्ने दाबी गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?