राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : डा.प्रकाशचन्द्र लोहनी

लोकपथ
42
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक कमजोरीका कारण अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

डा.लोहनीले सरकारले पैसा नभएको भनाइ फैलाउने तर भएको पैसा पनि पूर्ण रूपमा प्रयोग नहुने स्थिति आर्थिक दृष्टिले राम्रो नभएको उल्लेख गरे । 

उनले निजी क्षेत्रको मनोबल बढाउन बैंकको ब्याजदर घटाइए पनि लगानी आकर्षित नहुने चिन्ता रहेको बताए । उनका अनुसार बैंकको ब्याजदर वान डिजिटसम्म झरेको भए पनि अझै बढी भएको गुनासो आउँछ ।

पूर्व मन्त्री लोहनीले नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित भएपनि त्यसको पूर्ण उपयोग नभएको बताए । उनले भने, ‘नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ। तर भएका पैसा पनि खर्च हुँदैन । कटौती गर्नु आवश्यक कुरा हो, तर जति छ त्यो पनि उपयोग हुँदैन । प्राइभेट क्षेत्रलाई प्रोत्साहित गर्न सबैभन्दा ठुलो कुरा इन्ट्रेस्ट घटाउनु हो । संसारमा अलिकति इन्ट्रेस्ट घटबढले कति निजी लगानीमा असर गर्छ । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भएपनि हामीले त्यसलाई प्रयोग गर्न सकेनौँ। एक्सपोर्टमा लगाएनौँ। अहिलेको यो स्थितिमा आइपुग्यौँ। नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौती छ। कस्तो लिक्विडिटी ट्रयापमा परेको छ भन्ने राजनीतिले निर्धारण गर्छ। राजनीतिक तह कमजोर हुँदा अर्थतन्त्रले मात्र काम गर्दैन ।’

डा.लोहनीले हालको परिस्थितिमा राजनीतिक कमजोरी नै संकटको घडी भएको पनि बताए । उनले राष्ट्र बैंकमा नेपाली जनताको विश्वास अझै उच्च रहेको र बैंकलाई धेरै राजनीतिकरण नगरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?