काठमाडौं । राजनीतिक दलहरूले सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको छलफलमा दलका प्रतिनिधिहरूले निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई प्राथमिकताका साथ सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता प्रकाश अधिकारीले निर्वाचनप्रति जनविश्वास कायम राख्न आयोगले ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
उनले भने, ‘सामान्य निर्वाचनमा पनि देश अलि जटिल अवस्थामा हुन्छ, अहिले त परिस्थिति झनै विषम छ। यस्तो अवस्थामा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुनसक्नेमा आयोग कति ढुक्क छ भन्ने कुरा दलहरूले बुझ्नुपर्छ ।’
अधिकारीले हाल देश राजनीतिक र सामाजिक रूपमा जटिल अवस्थामा रहेकाले आयोगले दलहरूसँग निरन्तर संवाद गरेर उत्पन्न समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिए । उनले निर्वाचनलाई जनताको विश्वास जित्ने प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताए ।
यसैबीच, नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले निर्वाचनको कार्य तालिका सर्वदलीय सहमति र सुझावको आधारमा ल्याउनुपर्ने धारणा राखे ।
उनले भने, ‘निर्वाचन अपरिहार्य छ, तर यसको सुरक्षा प्रत्याभूति सरकारले र आयोगले स्पष्ट रूपमा दिनुपर्छ। राष्ट्रिय सुरक्षा परिषद्सँग समन्वय गरी देशभरको सुरक्षाको अवस्थाबारे जानकारी लिनुपर्छ ।’
सुवालले विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर–क्षेत्रीय मतदानका विषयमा उठेका प्रस्तावहरूप्रति पनि आपत्ति जनाउँदै भने, ‘अनलाइन वा हुलाकमार्फत मतदान गर्दा ह्याकिङ र खर्चको समस्या आउन सक्छ । त्यसैले सम्बन्धित निर्वाचन क्षेत्रबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्छ ।’
उनले दलबिच गठबन्धन गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।
छलफलपछि निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनीतिक दलहरूसँग पहिलो हुने र समानुपातिक प्रणाली दुवै निर्वाचन कार्य तालिकाबारे परामर्श गरेको जानकारी दिए ।
उनका अनुसार, दलहरूको सुझाव समेटी अन्तिम कार्य तालिका राजपत्रमा प्रकाशित गरिनेछ ।
आयोगले यसअघि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र मतदाता नामावलीका विषयमा समेत छलफल गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया