राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायो : रेशमलाल चौधरी

लोकपथ
42
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल) का संरक्षक रेशमलाल चौधरीले सरकारले देशभरका आन्दोलनलाई राजनीतिक दृष्टिले हेरेपनि टिकापुर आन्दोलनलाई अपराधिक रूपमा लिएको आरोप लगाएका छन् ।

बुधबार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले राज्यको यस दोहोरो नीति प्रति आपत्ति जनाएका हुन् । 

उनले भने, ‘जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी दुवै मारिएका थिए र त्यसलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको थियो । तर टिकापुर आन्दोलनलाई राज्यले अपराधको रूपमा लियो। यो निरकुंशताको प्रतीक हो ।’

चौधरीले नेपालमा विभेद, अन्याय र राज्यको निरंकुश व्यवहारविरुद्ध आफ्नो पार्टी लाग्ने बताए । उनले टिकापुर घटनामा संलग्न सबै कैदी र फरार अभियुक्तको मुद्दा फिर्ता गर्नुपर्ने माग राखे । 

उनका अनुसार करिब ३० जना अझै फरार सूचीमा छन् भने तीन सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दर्ता गरिएको छ ।

उनले राज्यले आफूहरूमाथि गरेको अन्याय, दमन र विभेदको माफी माग्नुपर्ने उल्लेख गर्दै टिकापुर घटनाका सबै राजबन्दीलाई तुरुन्त रिहा गर्नुपर्ने बताएका छन् । 

उनले भने, ‘हामी सम्पूर्ण नेपालमा मुद्दा बोक्छौँ । केवल मधेस र तराई मात्र होइन, पिछडिएका क्षेत्रका नागरिकको आवाज पनि हाम्रो प्राथमिकता हो। कर्णाली, हिमाली क्षेत्र र डोल्पाका नागरिकले राज्यबाट विभेद र अन्याय भोगेका छन् । यो हाम्रो देश हो र हामीले सबैको आवाज सुन्न र प्रतिनिधित्व गर्नुपर्छ ।’

चौधरीले आगामी निर्वाचनमा पार्टीले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाति, मुस्लिमका युवाहरू र एकल महिलालाई संसदमा पुर्‍याउने योजना रहेको बताए । उनका अनुसार, पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?