भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित, सहमति पत्रमा गरे हस्ताक्षर

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । आज बुधबार सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।

अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ । राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सुरु हुने एकता घोषणा सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’, सह–संयोजक नेपाल र रावलले सम्बोधन गर्नेछन् ।

रावलले एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका थिए । रावललाई एमालेले गत पुस १० गते साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पार्टी नीति र नेतृत्वविरुद्ध बोल्दै हिँडेको भन्दै एमालेले उनलाई पार्टीबाट निकालेको थियो । त्यसपछि उनले आफूनिकटहरूलाई समेटेर मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । अभियानले पार्टीको रूप भने लिइसकेको थिएन ।

एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् ।

नेकपा संयोजक दाहाल, सहसंयोजक नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशीसँग आइतबार भएको छलफलमा रावलले राष्ट्रियतालगायतमा विषयमा विचार मिलेकाले पार्टीमा सामेल हुने बताएका थिए । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव छ । रावल नयाँ नेकपामा सामेल भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सकारात्मक प्रभाव पार्ने दाहाल र नेपालको बुझाइ छ ।

रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ । दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछिको वरीयतामा रावल रहने छन् । 

आजै एमाले छाडेर केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्न लागेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?