काठमाडौं । झण्डै एक महिनादेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसिरहेको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
खासगरी आगामी फागुन २१ को निर्वाचन अघि कि पछि कांग्रेसको १५र्औँ महाधिवेशन ? अथवा कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ? यी नै विषय अहिले कांग्रेस बैठकको मुख्य एजेण्डा बनेको छ ।
एकातिर कांग्रेसका ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका छन् । तर केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशनमा नै जानुपर्छ भन्ने धारणाहरु आइरहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै निर्देशन अनुसार नै महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरी दबाब सिर्जना गरिएको थियो । तर महामन्त्रीद्वय भने सकेसम्म नियमित महाधिवेशनको पक्षमा बोलिरहेका छन् ।
***
झण्डै एक महिना समय बितिसम्दा पनि महाधिवेशनबारे गरमागरम बहस भइरहेका बेला कांग्रेसमा पुनः अर्को बहस सुरु भएको छ । खासगरी संस्थापन समूहले भने प्रतिनिधि सभा पुनस्थापना पार्टीको ‘बटमलाइन’ हुनुपर्ने धारणा अघि सार्दै आइरहेको छ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेको अगुवाइमा पार्टीभित्र माहोल बनाउन हस्ताक्षर अभियान नै चल्यो । केही दिनदेखि हस्तक्षर अभियान नै लगाएका घिमिरेले हालसम्म ५० जना हाराहारीमा सांसदहरुले प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा हस्ताक्षर नै गरेको दाबी गर्छन् ।
‘५० जना हाराहारी सांसदहरुले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेको मैले सूचना पाएको छु,’ घिमिरेले लोकपथसँग भने ।
त्यसो त जेनजी आन्दोलनपछि बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको थियो । तर प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि कांग्रेसले त्यसको पुनस्थापनाको पक्षमा कुनै कुरा भनेको थिएन । यता घिमिरे भने कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको भन्दै त्यसको वैधानिकता आफूहरुले खोजेको दाबी गर्छन् । उनका अनुसार प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा रहेका सांसदहरुको हस्ताक्षर गरेर पार्टी केन्द्रीय समिति बैठकमा बुझाउने तयारी रहेको छ ।

‘नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठकले यो प्रतिनिधि सभा विघटन र सरकार गठन नै असंवैधानिक र अलोकतान्त्रिक भन्ने कुरा मात्रै गर्यो तर अरु कुरा बोलेन । पार्टीभित्र अहिले दुईवटा मतहरु देखिएका छन् । धेरै सांसदहरुले अलोकतान्त्रिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनलाई अस्वीकार गर्दै प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ भन्ने र अर्कोतर्फ निर्वाचनमा जानुपर्छ भन्ने मतहरु देखिएका छन्,’ उनले लोकपथसँग भने, ‘हामीले यदी प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक नै हो भने त्यसलाई लोकतान्त्रिक बनाउने विधि त्यसको पुनस्थापना हो भन्ने कुरा अघि सारेका छौँ । पार्टीभित्र फेरि फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको विषयमा पनि छलफल भइरहेको छ । केही नेताहरुले त्यसको पक्षमा लाग्न भन्नुभएको छ । तर हाम्रो उदेश्य पार्टीको केन्द्रीय समिति बैठकले एउटा निर्णय गरेर पार्टीको एकै स्वर बनाओस् भन्ने धारणा रहेको छ ।’
संस्थापनलाई महामन्त्रीद्वयको ‘काउन्टर’
पार्टीको संस्थापन पक्षले प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने धारणा अघि सारिरहँदा महामन्त्रीद्वय थापा र शर्माले भने काउन्टर अभियान चलाएका छन् । पार्टीका सांसदहरुले हस्ताक्षर अभियान चलाउन थालेपछि महामन्त्री थापा र विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनको विकल्प नभएको भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिरहेका छन् ।
‘फागुन २१ को चुनाव हुन्छ, नो इफ नो बट । चुनावमा हामी सबैले भाग लिने हो । तर चुनावमा भाग लिन तपाईँले भोटर्सको रुपमा रजिस्टे«सन गराउनु भएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्र रजिस्ट्रेसन गराउनु होला, रजिस्ट्रेसन गराउनका निम्ति निर्वाचन आयोगको वेबसाइटमा गएर बुझ्न सक्नुहुन्छ नभए जसले रजिस्ट्रेसन गरेको छ त्यो साथीलाई सोधेर ६ दिनभित्रमा भोटर्स आइडी कार्ड बनाउनुहोला,’ सोमबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भनेका थिए ।
त्यसअघि सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले निर्वाचनको विकल्प अरु हुन नसक्ने भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका थिए ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए :
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ । निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।’
यता अर्का महामन्त्री शर्माले पनि सामाजिक सञ्जालमा लेख्दै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न आग्रह गरेका छन् । भिडियो अपिल गर्दै उनले निर्वाचन आयोगले तोकेको समयभित्र मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिरहेका छन् ।
‘अब मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि केही दिन मात्रै बाँकी छ । प्रश्न गर्नु, जवाफ खोज्नु, मतदाता बन्नु, मत दिनु संविधानले तपाईँ हामीलाई दिएको लोकतान्त्रिक अधिकार हो । त्यसैले हिमालमा पहाडमा तराई मधेसमा, देशको राजधानीमा या कुनै सुदूर गाउँमा जो जहाँ हुनुहुन्छ, म सबै युवालाई अपिल गर्न चाहन्छु, मतदाता नामावलीमा नाम दर्ता गर्न छुट्नु भएको छ भने आजै निर्वाचन आयोगले तोकेको स्थानमा गएर नाम दर्ता गर्नुहोस्,’ शर्माले भिडियो सन्देश जारी गर्दै भनेका छन् ।
यता हस्ताक्षर अभियान गर्दा पार्टीका शीर्ष नेताहरुसँग समेत समन्वय नगरिएको घिमिरेको स्वीकारोक्ति रहेको छ । उक्त हस्ताक्षर अभियानमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असन्तुष्टि जनाएका कारण केन्द्रीय समिति बैठकमा पेस भएको अवस्थामा पनि त्यो फेल हुने सम्भावना देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया