काठमाडौं । एक साताअघि बहुविवाह मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कैद बापतको रकम तिरेर छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार कैदबराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएपछि उनी रकम बुझाएर छुटेका हुन् । गम्भीर प्रकृतिको बाहेक एक वर्षमुनिको कैद सजायबराबर रकम बुझाएर छुट्न मिल्ने व्यवस्था छ ।
मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५५ ले उक्त व्यवस्था गरेको छ । यसअनुसार अदालतले आदेश दिए दिनको तीन सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ ।
शेर्पाले त्यही व्यवस्थाअनुसार कैदबाट छुट पाऊँ भनेर निवेदन दिएका थिए । उक्त निवेदन अनुसार उनी दिनको तीन सय रुपैयाँ दर अनुसार एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई कात्तिक १८ गते बहुविवाह मुद्दामा पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाह कसुरमा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो । काठमाडौं जिल्ला अदालतले तोकेको उक्त कसुर उच्च अदालत पाटनले सदर गरेको थियो ।
काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेको भोलिपल्ट उनलाई फैसला कार्यान्वयनका लागि प्रहरीले अदालत उपस्थित गराएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएको थियो ।
बहुविवाहमा अदालतद्वारा सजाय सुनाइएका शेर्पा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा दस्तासँग समेत जोडिएका व्यक्ति हुन् ।
उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् । ओलीले आरोप लाग्दैमा कोही दोषी ठहर नहुने भन्दै दिवंगत नेता सुवासचन्द्र नेम्वाङलगायतको नाम लिएका थिए । ओलीले शेर्पालाई कारबाही नगर्ने बताएपछि बैठकमा सहभागी अन्य पदाधिकारीले समेत ओलीको विरोध गरेका थिए ।
शेर्पा अशोक राईसँग छुटेर पछि डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।
आदिवासी जनजाति आन्दोलनमा समेत सक्रिय रहेका शेर्पा मिक्वाखोला–५, ताप्लेजुङका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया