अन्ततः प्रचण्ड–माधव नेपालसँगै उभिने निर्णयमा पुगे भीम रावल

लोकपथ
7.6k
Shares

काठमाडौं । नेकपा एमालेसँग छुट्टिएर मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल अन्नतः नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आग्रहपछि रावल आफ्नो अभियानलाई नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने मनस्थितिमा पुगेका हुन् ।

रावलसँग प्रचण्ड र माधव नेपालले आइतबार वान टू वान वार्ता गरेका थिए । सो क्रममा दुवै नेताहरुले एक्लाएक्लै हिँडेर कहीँ पुगिन्न भनेपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा आफ्नो अभियानलाई समाहित गर्न इच्छुक भएका हुन् । त्यसो त केहीबेरअघि केही नेताहरु रावलसँग वार्ता गर्न पुगेका थिए । सो क्रममा रावल सकारात्मक भएको र केही दिनभित्रै पार्टी एकता हुने छलफलमा सहभागि एक नेताले लोकपथलाई जानकारी दिए । ती नेताका अनुसार रावलसँग केही आन्तरिक सहमति गरेपछि पार्टी एकता हुनेछ ।

‘आज नै प्रचण्ड र माधव नेपालसँग उहाँको भेट भएको थियो । उहाँहरुले तपाईँ आउनुपर्‍यो, तपाईँ र हाम्रा धेरै कुराहरु मिल्छन् । तपाईँ राष्ट्र र राष्ट्रियताका विषयमा कुरा गर्नु हुन्छ, अनि एक्लै हिँडेर के गर्नुहुन्छ भन्नुभयो अनि म सोच्न बाध्य भएँ,’ रावलको भनाईलाई उदृत गर्दै ती नेताले लोकपथसँग भने ।

अहिले पार्टीमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक मात्रै रहेका छन् । अन्य नेताहरुको जिम्मेवारी नतोकिसकेको समयमा रावललाई उचित स्थान दिने सहमति समेत भएको ती नेताको दाबी रहेको छ ।

नेकपा एमालेभित्र खरो रुपमा उत्रिने रावललाई गत निर्वाचनमा पार्टीले टिकट दिएको थिएन । त्यसो त १०औँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीविरुद्ध अध्यक्षमा लडेका रावल पार्टीभित्र खरो आवाज उठाउने भएकै कारण किनारामा पर्दै आइरहेका थिए । रावललाई पार्टीले कारबाही गरेपछि उनले मातृभूमी जागरण अभियान सञ्चालन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?