काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमलाई देशभरका सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।
आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री खरेलले देशका धेरै ठाउँमा मोबाइल नेटवर्क नटिप्ने, इन्टरनेट कमजोर हुने र सेवा सुधारमा ढिलाइ भएको गुनासो बढ्दो क्रममा रहेको बताउँदै तत्काल सुधारका उपायहरू लागू गर्न आग्रह गरे ।
उनले बिग्रिएका साइटहरूको मर्मत र नयाँ टावर विस्तारमा ढिलाइ हुनु टेलिकमको कमजोरी भएको भन्दै १ हजार २ सय टावरको टेण्डर किन अघि बढेन ? २ सय टावरको प्रक्रिया कहाँ अड्किएको छ ? प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमा गर्ने काम टेलिकमले महिना दिन किन लगाउँछ ? भन्दै प्रश्न गरे
मन्त्री खरेलले ग्राहकले शुल्क तिरेर सेवा लिने भएकाले गुणस्तरीय सेवा दिनु टेलिकमको दायित्व भएको उल्लेख गरे । उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै रहेको भन्दै त्यसलाई सक्रिय र प्रभावकारी बनाउन निर्देशन दिए ।
‘ग्राहकको गुनासो मन्त्री र सचिवसम्म पुग्नु बिडम्वना हो, ‘उनले भने, ‘गुनासो शाखा मृतप्राय नराख्नुहोस्, कार्यान्वयनमा लैजानुहोस् ।’
उनले टेलिकमका सबै कामकाजमा पारदर्शिता अपनाउन र सेवा विस्तार तथा मर्मतका काममा तीव्रता ल्याउन निर्देशन दिएका छन् । साथै उनले टेलिकमको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरकारले आवश्यक कार्यविधि तयार पारिरहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया