काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले चार बुँदे मार्गचित्र पेस गरे पनि त्यसलाई बेवास्ता गर्दै शनिबार राति नै बैठक सम्पन्न गरिएको छ । चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको बैठक शनिबार राति सम्पन्न गरिएको हो ।
डा. कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेस गरेकी थिइन् । जेनजी आन्दोलनपछि समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन नसक्ने उनको भनाइ थियो ।
उनले आगामी मंसिरभित्रै पहिलो महाधिवेशनको माग गरेकी थिइन् । तर विस्तारित बैठकले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै ६ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गर्ने निर्णय गरेको छ ।
महाधिवेशनबारे उनको माग थियो, ‘महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो । महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ ऊर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ ।’
केन्द्रीय सदस्य कार्कीले एक वर्षअघि भएको राष्ट्रिय भेलाबाट पार्टी सभापति मार्फत मौजुदा केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिको रूपमा घोषणा भएको स्मरण गराउँदै महाअधिवेशन आयोजक समिति घोषणापछि पनि केन्द्रीय सचिवालय र पदाधिकारी रहिरहनु र सचिवालय विस्तारसमेत गरिनुको आधार स्पष्ट नभएको भन्दै भंग गर्नुपर्ने माग गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतृत्व समूह/सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रतिनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ ।’
तर विस्तारित बैठकले यो विषयमा चासै दिएन ।
केन्द्रीय सदस्य कार्कीले विचार मिल्न सक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउँदै ठूला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।’
उनले रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्ने धारणा पनि अघि सारेकी थिइन् । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको भन्दै तीमध्ये पनि कम्युनिजम, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट गरिरहेको उनको भनाइ छ ।
‘यस यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य, शिक्षा, रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेन्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ ध्रुवीकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ,’ उनको भनाइ छ ।
रास्वपा बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।
छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरि हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेन्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।’
जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रूपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।
बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।
केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया