काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत् आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन् ।
लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताए । आजको विश्व बजार कुनै पनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशील रूपमा लिनुपर्ने बताए ।
मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्ने माग गरे । जेनजीले उठाएका विषयहरुको कार्यान्वयनले तीव्रता पाउँछ भन्ने अपेक्षा लिएको पनि बताए ।
उनले भने, ‘मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्छ । जेन जीले उठाएका विषयहरुको कार्यान्वयनले तीव्रता पाउँछ भन्ने अपेक्षा छ । सरकार गठनसँगै सरकार भएका केही निर्णयहरूले त्यो सन्देश दिएको पनि छ । यसका लागि निजी क्षेत्रले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका प्रभावकारी रूपमा खेल्न तयार रहेको छ । आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई दुःखी र चिन्तित बनाएको छ । लगानीकर्तामा लगानी र व्यक्तिगत शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न गाह्रो हुन्छ । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्न सक्छ । आजको विश्व बजार कुनै पनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशील रूपमा लिनुपर्छ ।’
अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न आग्रह गरे । आन्दोलनको बहानामा निजी सम्पत्तिमाथि आक्रमण र आगजनी गर्नेमाथि कारबाही गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया